महोत्तरीका सात जनप्रतिनिधि दोस्रो पटक निर्वाचित

गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुने प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष सात जनामात्र छन् । जिल्लाको लोहारपट्टी, भङ्गाहा र मटिहानी नगरपालिकाका प्रमुख यसपटक पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । त्यसैगरी औरही, बलवा र लोहारपट्टिका उपप्रमुख र एकडारा गाउँपालिकाका उपाध्यक्ष पनि दोस्रोपटक निर्वाचित भएका छन् ।

लोहारपट्टीका यसअघिका प्रमुख, उपप्रमुख दुवै यसपालि दोस्रोपटक निर्वाचित भएका हुन् । प्रमुखमा शैलेन्द्र यादव र उपप्रमुखमा सरिता शर्मालाई यो सफलता प्राप्त भएको छ । उनीहरु नेपाली काँग्रेसका उम्मेदवार हुन् । त्यसैगरी भङ्गाहा र मटिहानीका प्रमुखमा क्रमशः सञ्जीवकुमार साह र हरिप्रसाद मण्डल दोस्रोपटक निर्वाचित भएका हुन् । वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट निर्वाचित दुवैजना यसपालि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट निर्वाचित भएका हुन् ।

यस्तै औरही र बलवा नगरपालिकाका उपप्रमुख क्रमशः रेणु झा र रेखाकुमारी यसपालिसमेत दोस्रो पटक निर्वाचित भएका छन् । वि.सं २०७४ मा तत्कालीन तमलोपाबाट निर्वाचित झा र रेखाकुमारी यसपालि लोसपाबाट निर्वाचित भएका हुन् । यता २०७४ मा तत्कालीन तमलोपाबाट एकडारा गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएकी महजवी खातुन भने यसपालि जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट निर्वाचित भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार