नबिल बैङ्क र लगानी बोर्डबिचको सहकार्यले विदेशी लगानीकर्तालाई विश्वास जगाउँदैछ : बजगाईँ [अन्तर्वार्ता]

नेपालमा विदेशी लगानीको प्रतिवद्धता र वास्तविक लगानीबिचको अन्तर ठूलो छ । धेरैजसो विदेशी लगानी नेपाल  केन्द्रित  छन्  । तर विदेशी लगानीको अवस्थाको विश्लेषणबाट हेर्दा नीति र कानुनी व्यवस्थाले मात्रै विदेशी लगानी आउन कठिन हुने र आइसकेपछि पनि नटिक्ने अवस्था अहिले विद्यमान छ । यसैबिच  लगानी बोर्ड नेपाल  र नबिल बैङ्क लिमिटेडबिच  वैदेशिक लगानी भित्राउन सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । लगानी बोर्ड स्थापना भएको १० वर्षपछि विदेशी लगानी भित्राउनका लागि पहिलो पटक बोर्डले बैङ्कलाई साझेदार बनाएर काम गर्न लागेको हो । संकटउन्मुख नेपालको अर्थतन्त्रमा यो सम्झौताको महत्त्व, आवश्यकता र  चुनौतीका साथै नबिल बैङ्क लिमिटेडका योजनाका विषयमा बैङ्कका उपमहाप्रबन्धक एवं अन्तर्राष्ट्रिय व्यापार तथा रणनीतिक विस्तार प्रमुख  आदर्श बजगाईँसँग टिभी अन्नपूर्णकर्मी शर्मिला सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :
यहाँहरूले भर्खरै नेपालमा विदेशी लगानी पर्वद्र्धनको सहजीकरण गर्न भन्दै लगानी बोर्डसँग गरेको सम्झौताको खास उद्देश्य के हो ?  
लगानी बोर्डले ५ वर्षीय रणनीति बनाएको छ । त्यसमा ४ वटा रणनीतिक खम्बा पहिचान भएका छन् । । त्यसमध्येको एउटा खम्बा सहकार्य साझेदारी छ ।  त्यही सहकार्य साझेदार अनुसार हामी नबिल बैङ्क पनि जोडिन पुगेका हौँ । आर्थिक विकास र लगानी प्रवर्द्धनका निम्ति देशमा वित्तीय संस्था एउटा प्रमुख पार्टी हो । वित्तीय संस्थालाई सँगै लिएर जानुपर्छ भन्ने अवधारणा अन्तर्गत नबिल बैङ्क अग्रणी बैङ्कका हिसाबमा र हाम्रो ३७ वर्षको अनुभव र हामीले विदेशी लगानी र प्रत्यक्ष विदेशी लगानीमा धेरै कामहरू यसअघि नै गरिसकेकाले लगानी बोर्डले नबिल बैङ्कसँग सहकार्य गर्दा राम्रो हुन्छ भनेर सुरुवात गरेको हो ।
यसमा नबिल बैङ्कले कसरी काम गर्छ ? 
नबिल बैङ्कले धेरैवटा क्षेत्रमा काम गर्न सक्छ जस्तै लगानी बोर्डसँग मिलेर  हामीले प्रत्यक्ष वैदेशिक लगानी अथवा लगानीकर्ता आउँदा उनीहरूलाई सहजीकरण गरिदिने । प्रत्यक्ष वैदेशिक लगानी  (एफडिआइ) को लागि राष्ट्र बैङ्कबाट अनुमति लिनुपर्ने हुन्छ । त्यो अनुमति लिन सहजीकरण गरिदिने तथा नेपालको बैंकिंगको नियम केके छन् ?  बैंकिंग व्यवसाय गर्नका लागि लगानीकर्ताहरूलाई केके डकुमेन्टहरू  चाहिन्छ, कस्तो किसिमका कानुनी प्रक्रिया पुरा गइनुपर्ने  हुन्छन् भन्ने कुरामा सहयोग गर्छौ । त्यसबाहेक संसारभर बैङ्कलाई एउटा भरपर्दो संस्थाको रूपमा लिइन्छ । यसैले पनि हामी आफैँ लगानी बोर्डमा गएर, अन्तर्राष्ट्रिय फोरमहरूमा गएर नेपालमा लगानीको अवसर, आकर्षण लगायतका कुराहरू राख्नेछौँ ।  नेपालको आर्थिक अवस्थाका कुराहरू अगाडी प्रस्तुत गरिदिँदा विदेशी लगानीकर्ताहरूले बैंकिग र बैङ्क सम्बन्धी निकायहरूले भनेको कुरालाई अलिकति गहिरो रूपमा लिन्छ भन्ने विश्वास छ ।  बैङ्क पनि यो प्रक्रियामा सँगसँगै हुँदा थप विश्वास बढ्ने र  नेपालमा लगानीको वातावरण सिर्जना गरि आर्थिक विकासमा अघि बढ्न ठुलो भूमिका हुन्छ ।
नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनका लागि अब नबिल बैङ्कको भूमिका कस्तो रहनेछ ?
नबिल बैङ्कको भूमिका मूल रूपमा नेपाललाई प्रवर्द्धन गर्ने हो ।  नेपालमा भएका लगानीका अवसरहरूमा नबिल बैङ्कले सहजीकरण गर्नुपर्ने हुन्छ । आर्थिक विकास र नेपाललाई लगानीको वातावरण सिर्जना गर्न बैङ्कको ठुलो भूमिका हुन्छ  । त्यो  भूमिका बढाउने  उद्देश्यका साथ अगाडी बढिरहेका छौँ । यो भन्दै गर्दा नेपालमा अहिलेसम्म बैङ्कहरूको  अभ्यास हेर्दा  हामीले परम्परागत बैंकिग जस्तै डिपोजिट लिने, लोन दिने त छदैँछ । तर नयाँ तरिकाले बैङ्कमार्फत विदेशी लगानी पर्वद्धन गर्ने कामलाई पनि अवसरको रूपमा लिएर अघि बढ्छौँ ।
नेपालमा विदेशी लगानी भित्राउने विषयमा धेरै कुराहरू हुन्छन् काम ठोस रूपमा भएको पाइँदैन तपाईँको बिचारमा  यसका चुनौती केके छन्  
नेपालमा लगानी गर्दा प्रमुख तिन वटा चुनौती छन् । प्रत्यक्ष वैदेशिक लगानी ल्याउनलाई र वैदेशिक लगानीकर्तालाई आकर्षित गर्नलाई सबैभन्दा प्रमुख भनेको वैदेशिक मुद्राको हेजिंग भन्छौ । वैदेशिक लगानीकर्ताले विदेशी मुद्रा लिएर आउँछन् र यहाँ आएपछि नेपाली रुपैयाँमा कन्भर्ट गर्नुपर्ने हुन्छ । त्यसो गर्दा भोलि उनीहरुले त्यो पैसालाई फिर्ता लैजाँदा एक्सचेन्ज रेटको रिस्क हुन्छ त्यसलाई कसरी व्यवस्थापन गर्ने त्यसमा एउटा प्रमुख भूमिका बैंकिंग क्षेत्रको हुन्छ ।  त्यो अवस्थामा नबिल बैङ्कले  सहजीकरण गर्न सक्छ  । यो सहजीकरण हामीले गर्नुपर्छ । दोस्रो भनेको चाहिँ हाम्रो देशको रेटिंग, देशको क्रेडिटको रेटिंग हुन्छ । देशको रेटिंग नभएसम्म लगानीकर्ताले नेपालको रिस्क,  नेपालको राजनीतिक रिस्क,  टयाक्सेसन रिस्कको बारेमा धेरै कुरा जानकारी पाएको हुँदैन । तेस्रो चुनौती भनेको पुँजी बजार विकास हो  ।  पुँजी बजार विकासमा चाहिँ अहिलेसम्म हामीले सेयर बजार, इक्विटी मार्केटको मात्रै कुरा गरिरहेका छौँ ।
तर अब गर्नुपर्ने कुरा चाहिँ डेबिट क्यापिटल मार्केटको हो । सरकारले ऋणपत्रहरू निष्कासन गर्छ ।  त्यसलाई सेकेन्डरी मार्केटमा दैनिक ट्रेड गर्न सकियो जसरी अहिले सेयरको  ट्रेड भइरहेको छ । त्यसरी  ट्रेड गर्न सकियो भने त्यसले एउटा मूल्य खोज्छ  र विदेशी लगानीकर्ताले जहिले पनि नेपालमा आएर त्यसको रिस्क र रिटर्न खोज्छ भने एउटा चाहिँ  पुँजी बजारको विकास र ऋणपत्रको कारोबारलगायतका विषयहरू महत्त्वको साथ लिइन्छ । यी विषयहरू हाम्रोमा  प्रमुख चुनौतीको रूपमा छन् ।  र त्यसमा चाहिँ सरकार, लगानी बोर्ड, राष्ट्र बैङ्कको भूमिका छँदै छ । त्यसमा बैंकिग  क्षेत्र प्रमुख पार्टनर हो र यसले वित्तीय साधनहरूलाई वास्तवमा प्रयोग गर्छ  । त्यसपछि बजारलाई  समाधान दिन्छ । त्यसैले अब हामीले बैङ्कलाई त्यो दिशातर्फ लग्नुपर्छ भनेर अगाडी बढिरहेका छौँ ।
यसअघि पनि बैङ्कले विदेशी लगानी भित्राउनका लागि महत्त्वपूर्ण काम गदै आएको भनिरहेको छ । यसमा पछिल्लो सम्झौताले थप के प्रभाव पार्छ ?
यसमा पछिल्लो सम्झौतामा फोकस हुने हो भने लगानी बोर्डले गरेका  विभिन्न क्रियाकलापमा  नबिल बैङ्क साथ र समर्थनका साथ जान्छ । जस्तो हामीले एउटा के पनि भनेका छौ भने लगानी बोर्डमा यदि कोही विदेशी लगानीकर्ता आउनुभयो वा प्रमुख लगानीकर्ताहरू आउनुभयो भने त्यसमा उहाँहरूले तुरुन्तै अर्थात् हामी अनकल्ड डेक्स भन्छौ । उहाँहरूले बोलाउने बित्तिकै हाम्रो नबिल बैङ्कको डेक्स त्यहाँ लगेर विदेशी लगानीकर्तालाई नेपालको बैंकिग नियम, नेपालको बैंकिग प्यारामिटर, प्रमुख सूचकहरू, मुख्य जोखिम सूचक, म्याक्रो  इकोनोमिक्स सूचकहरू के कस्तो छन् भन्ने कुराहरू र कस्तो किसिमको बैंकिग बातवरण छ  र उहाँहरूले एफडिआई गर्दा चाहिने कानुनी आवश्यकताहरूबारे हामीले जानकारी दिन्छौ । भविष्यमा  हाम्रो नेपालका अधिकारीहरू विदेशमा गएर वित्तीय हब  जस्तै सिङ्गापुर, लन्डन, न्यूयोर्क, सांघाईेका विदेशी लगानीकर्तालाई नेपालमा आएर  लगानी गर्नुस् भनेर आकर्षण गर्दा हामी नबिल बैङ्क पनि त्यसमा  सहभागी भएर हाम्रा कुरा राख्छौँ । जस्तै नेपालको बैंकिग क्षेत्रमा के भइराखेको छ ? बैंकिगको इतिहासदेखि अहिले कस्तो खाले प्रोजेक्टहरू चलिरहेका छन् भन्ने खालका जानकारी दिन सक्छौ ।  उदाहरणका लागि हामीले  पहिले नै हाइड्रोपावरमा १८ सय मेगावाटसम्मको क्षमतामा वित्तपोषण गरेका छौँ । त्यस्तै सिमेन्ट, स्टिलमा हेर्ने हो भने नेपालमा  खपत  हुने ५० प्रतिशत खपत हामीले लगानी गरेकोबाट उपलब्ध भइराखेको छ । त्यसबाहेक एनसेल र नेपाल टेलिकम्युनीकेसनको प्रमुख बैङ्क हो नबिल । हामीले यसअघि नै ती क्षेत्रमा लगानी गरिसकेका छौँ ।  अब चाहिँ त्यसैमै केन्द्रित भएर लगानी बोर्डसँगको सहकार्यमा नेपालको दिगो आर्थिक विकासको निम्ति काम गर्नेछौ । प्राथमिक परियोजना हो बुझेर ती प्राथमिकका परियोजनामा नबिलले सहजीकरण गर्ने र केन्द्रित हुन सक्छ ।
सम्भवतः  लगानीबोर्डले विदेशी लगानी भित्र्याउने विषयमा बैंकिङ्ग क्षेत्रसँग गरेको  यो पहिलो सम्झौता हो । मलाई लाग्छ यहाँहरूले महत्त्वपूर्ण जिम्मेवारी पाउनुभएको छ । यसका लागि  बैङ्कका योजना केके छन्  ?
हजुरले सहि कुरा भन्नुभयो नेपाल सरकारको एउटा निकायले हामीलाई ठुलो जिम्मेवारी दिएको छ  । र त्यसमा हामी कृतज्ञ छौ  ।  यसलाई हामी गम्भिरतापूर्वक लिएका छौँ  ।  त्यसले गर्दा हामीले गर्नुपर्ने सहजीकरण जहाँ हामीले हाम्रो  विशेषज्ञताहरू  प्रयोग  गर्नुपर्छ त्यहाँ हामीले गर्छौ । जस्तो हामीले अहिले गर्नुपर्ने प्रमुख  कुराहरू वैदेशिक मुद्राको हेजिंग, देशको रेटिंग, देशको क्रेडिटको रेटिंग  र पुँजी बजार विकासको हो । यो तीनवटैमा हाम्रो  जुन  विशेषज्ञता छ , त्यसमा हाम्रो महत्त्वपूर्ण भूमिका हुनेछ ।  त्यस्तै लगानी बोर्डले लिएको जुन प्राथमिकता हो  ।  त्यो प्राथमिकतामा बैंकिग क्षेत्रबाट के गर्न सकिन्छ र बैङ्कले  परियोजना वित्तपोषण र लगानीकर्ताको सहजीकरण गर्दा के हेर्छ  भन्ने विषयमा लगानी बोर्डलाई सुझाव दिएर  हामी  भूमिका निर्वाह गर्छौ  । लगानी बोर्डले लिने कदममा पनि हाम्रो सधैँ साथ र समर्थन रहने छ । यो सम्झौता बहुआयमिक र गतिशील छ । हामीलाई प्राप्त भूमिकालाई नेतृत्वदायी बैङ्कको रूपमा सिर्जनात्मक रूपमा निर्वाह गर्ने योजना छ ।
के यो सम्झौतापछि अब  बैङ्कले सिधै विदेशी व्यापारीको लगानी भित्राउन सक्ने अवस्था हो ?
विदेशी व्यापारीको लगानी  सिधै भित्राउन त देशमा धेरै प्रक्रिया छन् । ती प्रक्रिया त पुरा गर्नुपर्ने हुन्छ नै ।  जस्तो एफडिआइको अनुमति राष्ट्र बैङ्क, उद्योग वाणिज्य विभागबाट लिनैपर्छ । बैङ्कले सिधै विदेशी व्यापारीको लगानी भित्राउन सक्ने भन्ने होइन । तर, बैङ्कले त्यसलाई सहजीकरण गर्ने काम हुनेछ । यसले लगानीकर्ताले नेपालमा लगानी गर्न आउँदा निश्चित कानुनी प्रक्रिया पुरा गर्नका लागि अतिरिक्त झन्झटको सामना गर्नुपर्ने छैन । अब हामीले नेपालमा आउने विदेशी लगानीकर्तालाई एउटा साझेदारकै रूपमा सहज वातावरण निमार्णका लागि काम गर्नेछौँ ।
यो सम्झौताले बिशेषगरि कुनकुन क्षेत्रलाई समेट्ने छ ? र यसले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला ?
यो सम्झौतामा यही क्षेत्र भन्ने छैन । जुन किसिमको क्षेत्र र अबसर लगानीकर्ताले देख्छ त्यहाँ लगानी गर्न सक्नेछ ।   हाम्रोमा सडक, आकाशे पुल। रेल, विमानस्थल, जलविद्युत आयोजनलगायतका क्षेत्र विदेशी लगानी आकर्षित गर्ने क्षेत्र हुन । हामी सबैलाई थाहा भएकै कुरा हो नेपालमा भएको पैसा अहिले पनि कुनै ठुला परियोजना गर्नका लागि पर्याप्त छैन ।  अहिले भएको पैसा दैनिक कारोबार गर्नलाई नै हामी गाह्रो अवस्थामा छौ । नेपालमा मात्रै होइन विश्वका सबै विकासशील अर्थव्यवस्थामा यो सामान्य कुरा हो ।  विकासशील अर्थव्यवस्थामा विकासको लागि प्रत्यक्ष लगानी चाहिने हो । किनभने देशभित्रको पैसाले मात्र पुग्दैन ।  त्यो कुरा दक्षिण एसियाली देशमा पनि हामीले देख्न सकिन्छ ।  विकासशील अर्थव्यवस्थामा विकासको लागि प्रत्यक्ष लगानी चाहिने  र  देशभित्रको पैसाले नपुग्ने भएकाले यसमा आकर्षित गर्नुपर्ने हुन्छ ।  यसले नेपालको ठुलो पूर्वाधारको विकासमार्फत समृद्धिको बाटोमा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार