तनहुँको व्यास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठ नाथ न्यौपाने विजयी भएका छन् ।
न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा पनि कांग्रेसकै इन्दिरा दरै निर्वाचित भइन् । उनले १२ हजार ४९८ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन् ।
यो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगरसमेत हो । रोचक बनेको व्यास नगरपालिकाको चुनावमा एमालेको समर्थन पाएका दीपकराजको पक्षमा करिब एक हजार मत भने बदर हुन पुग्यो ।
व्यासको मेयरमा वैकुण्ठले दोस्रो पटक जित हासिल गरेका हुन् । २०७४ चुनाव भन्दा यसपालिको चुनावमा न्यौपानेलाई जित्न सकस पर्यो । किनकी यस पालिकामा उनका प्रतिस्पर्धी रहेका जोशी कांग्रेसबाट असन्तुष्ट बनेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा थिए । उनले नेकपा एमालेसँग तालमेल गरी चुनाव लडेका थिए ।