रत्ननगर नगरपालिकाका प्रमुख र उपप्रमुख चढ्ने गाडी सङ्क्रमित बोक्न प्रयोग

पूर्वी चितवनको रत्ननगर नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लान र ल्याउन प्रयोग गरिने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रमुख नारायण वन, उपप्रमुख विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीले प्रयोग गर्दै अएका गाडी कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो ।

सङ्क्रमितलाई अस्पताल लैजान एम्बुलेन्सलगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि प्रमुख वनले आफू चढ्दै आएकोसहित चारवटा गाडी सङ्क्रमितका लागि प्रयोग गर्ने घोषणा गरेका हुन् । प्रमुख वनले चढ्दै आएको बा२झ ३३९९, उपप्रमुख दुवाडीले चढ्दै आएको ना१झ १५८६, प्रमुख प्रशासकीय अधिकृत पौडेलले चढ्दै आएको बा१२च२७१ र कर्मचारीले प्रयोग गर्दै आएको बा२झ १२१७ नम्बरको गाडी कोरोना सङ्क्रमितलाई घरबाट आइसोलेशन र आइसोलेशनबाट अस्पताल लैजान प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

“अब हाम्रा गाडीहरु एम्बुलेन्सका रूपमा प्रयोग गर्दैछौँ”, वनले भने, “कोही पनि नगरवासी सवारी साधन नपाएर छटपटाउनु पर्दैन ।” वनले सवारी साधनको आवश्यक परे ढुक्क भएर नगरपालिकामा सम्पर्क गर्नसमेत आग्रह गनुभएको छ । सङ्क्रमितलाई छिटोछरितोरूपमा सेवा दिनका लागि आफूहरुले चढेको गाडी प्रयोगमा ल्याइएको उनको भनाइ छ । यसअघि रत्ननगरले कोरोना सङ्क्रमितलाई अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा शुरु गरिसकेको छ । होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई घरघरमै पुगेर यहाँका स्वास्थ्यकर्मीले उपचार तथा रेखदेख गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार