पर्वतका ६१ वडाध्यक्षमा महिलाको सङ्ख्या शून्य

पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुनसकेका छैनन् । सबै वडाध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन् । विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बनेका थिए । जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि पराजित भए।

विहादी १ मा नेकपा (एमाले)का चित्रबहादुर गुरुङसँग खड्का पराजित भएकी हुन् भने कुश्मा–११ मा पनि एमालेकै बाबुराम पौडेलसँग दबाडी पराजित भएकी हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा कुश्मा–४ र ५ मा नेपाली कांग्रेसको तर्फबाट क्रमशः मीना कर्माचार्य र चित्रकला शर्मा भारती निर्वाचित भएका थिए ।

यस पटक भने वडाध्यक्षमा महिलाको सहभागिता शून्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महिला उम्मेदवारको सङ्ख्या नै कम रहेको र महिला उठेका पनि विजयी हुन नसकेकाले ६१ वडाका अध्यक्षमा महिलाको प्रतिनिधित्व हुन नसकेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताए । जिल्लामा एउटा पालिकाले भने महिला नै प्रमुख पाएको छ । मोदी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बनेकी हीरादेवी शर्मा अध्यक्षमा निर्वाचित भएकी छन् । उक्त गाउँपालिकामा एमालेकै उम्मेदवार विमल लामिछाने उपाध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनका कारण प्रमुख र उपप्रमुखमा जलजला गाउँपालिकाले महिलालाई पाउन सकेन ।

जलजलाको अध्यक्ष र उपाध्यक्षमा दुवै पुरुष निर्वाचित भएका छन् । कांग्रेसको तर्फबाट उम्मेदवार बनेका राजु आचार्य र माओवादीबाट उपाध्यक्षको उम्मेदवार बनेका दीपक आचार्य विजयी भएपछि उपाध्यक्षमा महिलाको स्थान गुमेको हो । जिल्लाका बाँकी पाँच स्थानीय तहमा भने उपप्रमुख/उपाध्यक्ष महिलानै विजयी भएका छन् ।

फलेवास नगरपालिकामा माओवादी केन्द्रबाट शोभा क्षेत्री, विहादीमा एमालेकी मीना तिवारी, पैँयू गाउँपालिकामा एमालेकै यामकुमारी राना र महाशिला गाउँपालिकामा पनि एमालेबाटै उम्मेदवार बन्नुभएकी धनशोभा विक विजयी भएका हुन् । जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकमा महिला उपप्रमुख वा उपाध्यक्ष छन्, भने बाँकी दुई पालिकामा पुरुष उपाध्यक्षमा निर्वाचित भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार