चितवनमा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १० बालमन्दिर रोड स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत भरतपुर ७ कटहरचोककी ३६ वर्षीया सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार दिउँसो सवा १ बजे घरको तेस्रो तल्लामा संचालन रहेको बीमा कम्पनीको बाहिर पट्टी झुण्ड्याएर राखिएको फ्लेक्स बोर्ड झिक्ने क्रममा अचानक करेन्ट सट भई आगोलागी हुँदा पौडेलसँगै अर्का कर्मचारी तरुण थापा पनि घाइते भएका थिए ।
उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा सुवेदीको बाटोमै मृत्यु भएको अस्पतालले घोषणा गरेको हो। घाइते २२ वर्षीय थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दाको सहयोगमा निभाइएको छ । आगलागीबाट कार्यालयका कागजात पनि जलेका छन् ।