छिन्नमस्ताको प्रमुखमा २५ वर्षीय चौधरी निर्वाचित

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन्। जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उनले दुई हजार ८९५ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले एक हजार ७६६ मत ल्याए । सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८०० र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत मात्र ल्याए ।

लोसपाका चौधरी लोकप्रिय मतका साथ अध्यक्षमा निर्वाचित भए पनि उपाध्यक्षसहित वडाध्यक्ष लोसपाले जित्न सकेन । उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का राजुदेवी यादवले दुई हजार ४७२ मत प्राप्त गरेर निर्वाचित भइन। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमिलादेवी साहले एक हजार ५९५ मत ल्याइन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार