इटहरी उपमहानगरको मेयरमा कांग्रेसका हेमकर्ण विजयी

सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा एमाले विजयी भएका छन् ।

आज सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार इटहरीको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भए । उपमेयरमा भने नेकपा (एमाले)की उम्मेदवार संगीता कुमारी चौधरी विजयी भइन् ।  मेयरमा एमालेका उम्मेदवार यामकुमार सुब्बालाई कांग्रेसका पौडेलले ५०१८ मतान्तरले पराजित गरे निर्वाचन अधिकृतको कार्यालय इटहरीले दिएका जानकारी अनुसार कांग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटत् प्रतिद्वन्द्वी एमालेका सुब्बाले २८ हजार ३१ मत पाए। उपमेयरमा विजयी भएकी एमालेकी चौधरीले ३२ हजार ४३६ मत पाइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का केशव कुमार विष्टले १८ हजार ३१ मत मात्रै ल्याए । इटहरीका ७३ हजार ८२३ मत खसेको थियो । २० वडा रहेको इटहरीमा १४ वडा एमालेले, ५ वडा का‌ग्रेसले तथा एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

गाउँपञ्चायतदेखि नगरपालिका हुँदै उपमहानगरपालिकासम्म आउँदा इटहरीमा एमालेले बागडोर सम्हाल्दै आएको थियो । यो पटक भने कांग्रेसको भागमा परेकाे छ । नगरको प्रमुख जिते पनि वडामा भने कांग्रेसको बहुमत खस्किएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा १२ वडा जितेर उपमहानगरमा बहुमत बनाएको कांग्रेसले यो पटक भने ५ वटा मात्रै वडा जितेको छ । सोहि निर्वाचनमा मेयर र उपमेयर जिते पनि बहुमतमा चुकेको एमालेले भने यो पटका उपमेयर र बहुमत वडामा जित हासिल गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार