यसरी भएकाे थियाे नेपालकै पहिलाे चुनाव

नेपालमा ७५ वर्षअघि राणा शासनकालमा राजधानी काठमाण्डूमा स्थानीय निकायको निर्वाचन गराइएको थियो जसको पृष्ठभूमि तथा कतिपय विशेषता रोचक रहेको पाइएको छ।

विसं २००४ साल जेठ २९ गते काठमाण्डूका शहरी क्षेत्रका जनतालाई आफ्नो प्रतिनिधि छान्न मतदानको आयोजना गरिएको थियो।निर्वाचन आयोगले विसं २०७३ सालमा प्रकाशित गरेको नेपालको निर्वाचन इतिहास पुस्तकका अनुसार निर्वाचित म्यूनिसिपलिटी खडा गर्ने उद्देश्य सहितको उक्त चुनाव हालसम्मकै ुपहिलो र ऐतिहासिक निर्वाचनु हो।

राणा प्रधानमन्त्री पद्‌म समशेरको आदेशमा उक्त निर्वाचन गराइएको थियो।पूर्व प्रशासक तथा नेपालको परराष्ट्र सम्बन्धसँग सम्बन्धित ऐतिहासिक पुस्तकहरूका लेखक डा. मदनकुमार भट्टराईका अनुसार चार किल्लाभित्र २१ वटा वडा कायम गरिएको थियो। नेपालको निर्वाचन इतिहास पुस्तकका अनुसार त्यसबेला २१ वर्ष नाघिसकेका पुरुषलाई मात्रै भोट हाल्ने व्यवस्था गरिएको थियो।

उक्त निर्वाचनमा महिलाहरूले पनि भोट हाल्न पाउनुपर्छ भनी श्री ३ पद्‌म समशेरसँग माग राखिएको भए पनि महिलाहरूलाई मतदानबाट वञ्चित गरिएको थियो।

त्यसबेला २१ वटा वडामा ६८ हजार ११८ जना मतदाता रहेको र सबैभन्दा बढी मतदाता र घरधुरी वडा नं ११ मा थिए।सरकारी तिरो तिर्न बाँकी नभएका २५ वर्ष पुगिसकेका पुरुष मात्रै उम्मेदवार बन्न सक्ने व्यवस्था त्यसबेला गरिएको थियो।

सरकारी जागिरदारहरूलाई निर्वाचनको उम्मेदवार बन्न रोक नलगाइएकाले कतिपय वडाबाट कर्मचारीहरू पनि निर्वाचित भएका थिए।एकाइसवटा वडामध्ये चारवटामा एक जनामात्रै उम्मेदवार भएकाले मतपेटिका राखिएको थिएन।

एकभन्दा बढी उम्मेदवार उठेका वडाहरूमा मतदाताको सङ्ख्या र भौगोलिकताका आधारमा एकभन्दा बढी मत बाकसहरू राखेर २२ ठाउँमा मतदान केन्द्रहरूमा अलगअलग बाकस राखिएको थियो।

प्रत्येक उम्मेदवारको फरकफरक रङ्गका छुट्टाछुट्टै मतपेटिकाहरू रहेको र ती खुला ठाउँमा राखिएकाले कसले कुन उम्मेदवारको पक्षमा भोट खसाल्यो भन्ने कुरा वरपर उभिएका मानिसहरूले त्यसबेला स्पष्ट रूपमा देखेको निर्वाचन आयोगको पुस्तकमा जनाइएको छ।

काठमाण्डूको सो चुनावमा ६० देखि ६५ प्रतिशतसम्म मत खसेको बताइन्छ। एक्काइस वडाबाट चुनिएका भुवनलाल प्रधान पहिलो निर्विरोध जनप्रतिनिधि बनेका थिए।मनोनीत र निर्वाचित गरी ३१ सदस्यबाट काठमाण्डू म्युनिसिपलिटीका सभापति र उपसभापति छनोट गरिएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार