विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की विजयी

विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइरालाले ३० हजार १७० मत ल्याएर महानगरको दोस्रो मेयर घोषित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत पाए । राप्रपाका प्रल्हाद प्रसाद साहले ५ हजार २१६ मत पाएका थिए ।

उपमेयरमा भने गठबन्धनलाई हराउँदै नेकपा एमाले निर्वाचित भएको छ । एमालेकी शिल्पा कार्की २५ हजार ६८० मतसहित उपमेयरमा निर्वाचित भएकी हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवले १४ हजार २१९ मत मात्रै पाए । यस्तै राप्रपाकी विन्दा कुमारी लुइटेल आचार्यले ६ हजार ४०१ मत पाइन् ।

२०७४ को स्थानीय निर्वाचनमा यहाँ कांग्रेसले मेयर र उपमेयर सहित ८ वडा जितेको थियो । महानगरमा १९ वडा छन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार