बुर्किना फासोका सुनखानीमा मानव तस्करको बिगबिगी

मानव तस्करहरुले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु–याउँछन् । हरेक रात उनले २ डलरभन्दा कममा दर्जनौं पुरुषसँग रात बिताउनु परेको छ ।

पश्चिम अफ्रिकाको भूपरिवेष्ठित गरिब राष्ट्र बुर्किना फासोकी ब्लेसिङलाई सैलुनमा काम मिलाइदिन्छु भनेर लोभलालच देखाएर फसाउने एक महिलाले ब्लेसिङलाई भाग्ने कोसिस गरे मारिदिने धम्की दिएकी थिइन् ।

“अब कोहि पनि तिमीलाई उद्धार गर्न आउँदैन,” हालै अन्तर्वार्ता लिनेक्रममा आँखाबाट रसाएका आँशु पुछ्दै ब्लेसिङले आफ्नो पीडा सुनाइन् ।

सन् २०१९ डिसेम्बरमा आफूलाई कब्जामा राख्ने महिला कतै लागेको मौका छोपेर ब्लेसिङ ठूलो साहसका साथ त्यस काठकोठरीबाट भाग्न सफल भइन् । स्थानीय बासिन्दाको सहयोगमा उनी र अरु ६ जना महिला त्यहाँबाट भाग्न सफल भए । उनीहरु अन्ततः राजधानी औगाडोगुमा रहेको आप्रवासीका लागि खोलिएको राष्ट्रसंघीय केन्द्रको शरणमा पुगेका थिए । सुनखानीका शिविरमा थुनिनु पर्दाको ब्लेसिङको अनुभव नौलो भने होइन ।

यौन तस्करी र सुन खानी उद्योगका बारेमा एसोसिएटेड प्रेस (एपी) ले गरेको महिनौं लामो अनुसन्धानका क्रममा झण्डै २० जना नाइजेरियाली महिलालाई एपीले भेटेको थियो । यी महिलालाई झुटो लोभ देखाएर बुर्किना फासो ल्याइएको थियो, र त्यसपछि जबर्जस्ती बेश्यावृत्तिमा लगाइएको थियो । आफ्नो सुरक्षाका कारण नाम नबताउने शर्तमा ब्लेसिङले झैं कतिपय महिलाले यस्तै कथाव्यथा बोकेका सयौं महिलालाई आफूहरुले चिनेको बताएका थिए ।

एपीले यी महिलाका कथाहरु सही हुन् वा होइनन् भनेर धेरैसँग अन्तर्वार्ता समेत लिएको थियो जसमा सहायताकर्मीहरु, वकीलहरु, प्रहरी, स्थानीय मानव तस्करी प्रतिरक्षा समूहहरु, स्वास्थ्यकर्मीहरु, एक जना मानव तस्कर र बुर्किना फासोका धेरैवटा शहरमा रहेका नाइजेरियाली समुदायका सदस्यहरु सहभागी थिए ।

मानव तस्करीका बारेमा जानकार मानिसहरुले अधिकांश महिलाहरु नाइजेरियाको एडो राज्यबाट आउने गरेका बताएका थिए । उनीहरुलाई बुर्किना फासोका पसलहरु वा सैलुनमा राम्रो कमाई हुने भन्दै प्रलोभनमा पार्ने गरिएको थियो । एक पटक यहाँ आइसकेपछि उनीहरुलाई स–साना सुनखानीहरुमा पठाइने गरिन्थ्यो ।

बुर्किना फासो र नाइजेरिया दुवै देशले अन्तरदेशीय संगठित अपराध विरुद्धको राष्ट्रसंघीय अभिसन्धिमा हस्ताक्षर गरेका भए पनि दुबै देशले मानव तस्करी विरुद्ध लड्न संयुक्त योजना नै बनाएका छैनन् ।

जिहादी आतङ्कबाट गुज्रिरहेको बुर्किना फासोको सुरक्षा क्षेत्र मानव तस्करी रोक्न पर्याप्त रुपमा प्रशिक्षित छैन । उनीहरुसँग तालिम, उपकरण र अन्तरदेशीय सहकार्य समेत छैन ।

परिणामस्वरुप, अमेरिकी विदेश मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार, बुर्किना फासो आफ्नो सीमाबाट हुने मानव तस्करी रोक्न संघर्षरत रहेको मात्र होइन अन्य मुलुकतर्फ हुने महिलाको तस्करीको मार्ग पनि भएको छ ।

स्थानीय अधिकारीहरुले बुर्किना फासोबाट मालीतर्फ तीन जना महिलालाई लैजानेक्रममा पक्राउ गरेका एक व्यक्तिले एपीसँग कुरा गर्दै आफूले मानव तस्करी नगरेको दाबी गरे । उनी भन्दै थिए, हरेक महिलालाई आफूहरु बेश्यावृत्तिको काममा जान लागेको थाहा छ ।

“मलाई अलिकति खल्लो लाग्छ किनभने उनीहरुले गर्न खोजेको यो राम्रो काम होइन । उनीहरु आफूखुशी जान लागेको बताउँछन्,” नाइजेरियामा कारका सामान बेच्ने ४८ वर्षीय एक व्यापारी बताउँछन् । आफू असुरक्षित रहने भयले उनी पनि आफ्नो नाम बताउन चाहँदैनन् ।

उनले आफूले बेनिनमा प्रति महिला २७० डलर तिरेर किनेको बताए । उनले मालीस्थित एक नाइजेरियाली महिलालाई ती महिलालाई दोब्बर मूल्यमा बेच्ने योजना सुनाए । उनले सन् २०१९ मा पनि दुई जना महिलालाई यसैगरी बेचेको बताए ।

अमेरिकी विदेश मन्त्रालयले तयार पारेको तस्करीमा परेका व्यक्ति सम्बन्धी वार्षिक प्रतिवेदनमा बुर्किना फासोको अवस्था अझ नाजूक देखाइएको छ । सामान्यतया, मानव तस्करी रोक्नेतर्फ पर्याप्त कदम नचाले त्यस्ता मुलुकलाई अति नाजुक श्रेणीमा राख्ने गरिएको छ । यस्ता मुलुकलाई अमेरिकाले आर्थिक तथा कुटनीतिक दण्ड सजाय गर्न सक्ने जोखिम रहन्छ ।

बुर्किना फासोको सुनखानी उद्योग तुलनात्मक रुपमा नयाँ हो । देशका १५ वटा औद्योगिक खानीमध्ये एउटा सुनखानीबाट सन् २००७ देखि उत्पादन शुरु भएको छ । सरकारले निजी क्षेत्रको लगानी भित्र्याउन वातावरण निर्माण गरेसँगै सुनखानीमा विदेशी लगानी बढेको छ ।

आज, बुर्किना फासोले अफ्रिकामै सुनखानीको निकै तिब्र विकास गरेको छ । दक्षिण अफ्रिका, घाना, तान्जानिया र माली पश्चात् बुर्किना फासो नै सुन उत्खननमा अग्रपंक्तिमा छ । बुर्किना फासोको मुख्य बाह्य आम्दानीको स्रोत सुन नै रहेको छ ।

जर्मनीस्थित अनुसन्धान संस्था ग्लोकोनका अनुसार यस उद्योगले करिब १५ लाख व्यक्तिलाई रोजगारी दिएको छ भने सन् २०१९ मा यसको आकार झण्डै २ अर्ब डलर बराबरको थियो ।

यहाँबाट उत्पादित औद्योगिक सुनमध्ये ७० प्रतिशतभन्दा बढी स्वीटजरल्यान्ड पठाइन्छ । यो कच्चा सुनलाई स्वीट्जरल्यान्डस्थित मेटालोर टेक्नोलोजिजले प्रशोधन गर्ने गरेको छ ।

विज्ञहरु र स्थानीय अधिकारीहरुको भनाईमा महिलाको अधिकांश तस्करीका घटनाहरु साना स्तरका सुनखानीमा हुने गरेको छ । ठूला खानीहरुमा यस्तो प्रवृत्ति नदेखिएको अधिकारीहरुको भनाई छ ।

बुर्किना फासोमा ८०० को हाराहारीमा रहेका मध्यम स्तरका सुनखानीको अनुगमन गर्नु निकै मुश्किल कार्य हो । खासगरी पूर्वी सीमामा रहेका मुलुकहरु टोगो, बेनिन, नाइजर र घानाबाट हुने सुन तस्करी रोक्न निकै कठिन हुने गर्दछ ।

ब्लेसिङ नाइजेरियामा आफ्नै आमासँग मिलेर ऊखु र पिठोको व्यापार शुरु गर्न चाहन्छिन् । उनलाई थाहा छ, अरुहरुले आशा नै मारिसके । “धेरै केटीहरुले मिठो सपना देखेरै त्यता गएका हुन् । तर तस्करहरुले उनीहरुको आशा र सपना सबै समाप्त पारिदिन्छन् ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार