शुक्रबार साँझ आएको हावाहुरीले चितवनमा तीन जनाको ज्यान गयो

देशका विभिन्न स्थानमा दर्जन बढि घाईते, रुख ढलेर घरमा क्षति

चितवनमा हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ आएको हावाहुरीका कारण दुई स्थानमा रुख ढल्दा ३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले दिएको जानकारी अनुसार भरतपुर–११ भोजाडमा रुख ढलेर अटोमा च्यापिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने भरतपुर–१ बसिनेमा म्याजिक च्यापिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ चितवनमा तीव्र गतिमा हावाहुरी चल्दा जनजीवन प्रभावित बनेको थियो ।

तिव्र वेगमा चलेको हावाहुरीका कारण देशका विभिन्न ठाउँमा क्षतिका विवरणहरु आइरहेका छन । जसअनुसार रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं १ तुसारपानी निवासी हरी बहादुर पुनको घरको छानो पुर्णरुपमा उडाएको छ । परिवर्तन गाउँपालिका २ राङसी स्थित वन कार्यालयको भवन र स्थानीयका दुईवटा भवनको छानो उडाएको विपत व्यवस्थापन समिति रोल्पाले जनाएको छ । जिल्लाको हकमा अन्य विवरण पनि आउन सक्ने समितिले जनाएको छ ।

त्यस्तै उता प्यूठानको फोप्ली स्वास्थ्य चौकीको छाना उडाएको छ भने संगैको वर्षात्का कारण अहिले स्वास्थ्यचौकि भित्र पानी समेत थुनिएको स्वास्थ्य चौकीका प्रमुख प्रकाश घिमिरेले बताए ।

त्यसैगरी पुर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदी पुलमा गुडिरहेको ट्रकलाई पनि हावाले पल्टाएको छ । कैलालीको लम्किचुहा नगरपालिका ८ गप्कामा गुडिरहेको यात्रुवहाक से १ ख १८०६ नम्बरको बसमाथि रुख पर्दा ५ जना घाइते भएका छन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार