ओलीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णयको अनुमोदन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । प्रधानमन्त्री ओलीले विश्वासको मत देखाउन आगामी वैशाख २७ गते संसदको बिशेष अधिवेशन बोलाइएको छ ।

त्यस्तै बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको यसअघिको निर्णय अनुमोदन गरेको छ ।

प्रधानमन्त्री ओली प्रशासनिक, राजनैतिक र संवैधानिक हिसावले असफल भएको भन्दै कांग्रेसले यसअघि नै प्रधानमन्त्रीको राजीनामाका साथै आफ्नै नेतृत्वमा बैकल्पिक सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

त्यस्तै वर्तमान सरकारले संवैधानिक परिषद्को कार्यक्षेत्रलाई संकुक्षित गर्ने गरि संविधानको मर्यादाबिपरित ल्याएको अध्यादेशको विरोध गर्दै बैठकले सरकारले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ भने संवैधानिक परिषद्को बैठकमा काग्रेस सहभागी नहुने निर्णय पनि गरेको खाँणले बताए ।

बैठकले राष्ट्रपतिले शितल निवासलाई पार्टीको कार्यालय जस्तो बनाएको र दल सञ्चालन तथा व्यस्थापनमा राष्ट्रपति सहभागी हुनु उचित नभएको भन्दै दलको कार्यकर्ता जस्तो भूमिकामा नरहन आग्रह पनि गरेको छ ।

बैठकले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको प्रमुख सचेतक खाँणले जानकारी दिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाएका थिए । त्यस्तै देउवाले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरि विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका साथ सरकार अघि बढेको समेत धारणा राखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार