कोरोना संक्रमणबाट वडाध्यक्ष तामाङको निधन

नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण काठमाडौंको शङ्खरापुर नगरपालिका वडा नं–४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उनलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका वडा नं. –८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो ।

वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिए । उनको यही वैशाख २१ गते साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा पोजेटिभ रिपोर्ट आएको थियो । एक रात नगर अस्पताल इन्द्रायणीमै राखी उपचार गरिएको थियो ।

नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठ्यारो भएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको नगरपालिकाको वडा नं.–७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्रिचालीस वर्षीय तामाङ मधुमेह रोगबाटसमेत पीडित थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । साविकको लप्सेफेदी गाविसको वडा नं–३ निवासी तामाङ विसं २०७४ को निर्वाचनमा हालको शङ्खरापुर वडा नं–४ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी काँग्रेसको वडा सभापतिसमेत थिए।
नगरपालिकामा नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ८२ पुगेको छ । यसअघि पहिलो चरणमा १६९ जना सङ्क्रमित भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कोभिड सम्पर्क व्यक्ति लक्ष्मीराज जोशीले राससलाई जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार