गठबन्धनलाई हराउँदै वीरेन्द्रनगरको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी

वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका हुन् ।

नगर प्रमुखमा एमालेका मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा निलकण्ठ खनाल विजयी भएका छन् । प्रमुखमा ढकालले १६ हजार ३८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ४८४ मत ल्याएर पराजित भए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपप्रमुखमा निलकण्ठ खनालले २० हजार ३६४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार ५३३ मत ल्याएर पराजित भइन् ।

एमालेले यस पटक वीरेन्द्रनगरमा काँग्रेसको गढ भत्काउँदै विजयी हासिल गरेको छ । एमालेले अघिल्लो निर्वाचनमा प्रमुखमा हारेको थियो । प्रमुख ढकाल अघिल्लो निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएकी थिइन् । यसपटक उनलाई एमालेले प्रमुखको उम्मेदवार बनाएको थियो ।

वीरेन्द्रनगरमा गठबन्धनलाई हराउँदै नगरको १६ वडामध्ये ११ वटा वडासहित प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ । काँग्रेसले पाँच वटा वडा जितेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार