ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्मको वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकार पराजित भएका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा ११ औं पटक वडा अध्यक्ष पदमा उनी स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका थिए । तर उनी यसपटक भने आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भए ।
नेपाली कांग्रेसबाट उम्मेदवार उनका भतिजले ८२५ मत ल्याएका छन् । नरसिंहले ५४३ मत मात्रै ल्याए । व्यञ्जनकारले पुतली चुनाव चिन्ह पाएका थिए ।
आधा शताब्दीदेखि लगातार वडाध्यक्ष रहेका नरसिंहले पहिलो पटक चुनावी हार व्यहोरेका हुन् । नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका थिए । त्यतिबेला उनले दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई हराएका थिए । त्यसयता लितपुर महानगरपालिका वडा नम्बर १० को नेतृत्व उनले नै गर्दै आएका थिए ।