नेपालमा प्रयोग गरिएको चिनियाँ खोपलाई डब्ल्यूएचओको अनुमति

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिड खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ ।

डब्ल्यूएचओले स्वीकृति दिएको यो पहिलो युरोप बाहिर बनेको कोभिड खोप हो । चिनियाँ सरकारले आठ लाख मात्रा सहयोग उपलब्ध गराएको सिनोफार्मको भेरासेल खोप नेपालमा पनि दिइएको छ ।

नेपाल र चीनसहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ । यसअघि डब्ल्यूएचओले फाइजर, आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडेर्नाले बनाएको खोपलाई अनुमति दिइसकेको छ ।

अफ्रिका, दक्षिण अमेरिका र एशियाका विभिन्न देशका स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिइसकेका छन् । चिनियाँ कम्पनीले थोरै मात्र तथ्याङ्क सार्वजनिक गरेको कारण यो खोपको प्रभावकारिताका विषयमा प्रश्नहरू उठेका थिए । तर शुक्रबार डब्ल्यूएचओले सो खोपको सुरक्षा, प्रभावकारिता र गुणवत्तालाई पुष्टि गरेको छ । डब्ल्यूएचओले नयाँ खोपले आफ्ना स्वास्थ्यकर्मी र जनसङ्ख्यालाई जोखिमबाट बचाउने प्रयास गरिरहेका देशहरूका लागि कोभिड खोपसम्मको पहुँच बढाउने बताएको छ ।

त्यो खोप १८ वर्षभन्दा माथिका व्यक्तिहरूलाई दुई मात्रा दिन सिफारिस गरिएको छ । डब्ल्यूएचओले अर्को चिनियाँ खोप सिनोभ्याक र रुसको स्पुत्निक भीको बारेमा पनि अध्ययन गरिरहेको छ र ती खोपका विषयमा चाँडै नै निर्णय आउने बताइएको छ ।

डब्ल्यूएचओले अनुमति दिएपछि राष्ट्रिय स्वास्थ्य निकायहरूले यो खोपलाई स्वीकृति दिन सहज हुने बीबीसीले जनाएको छ । यसको अर्थ यो खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वभर वितरण पनि हुन सक्छ । कोभ्याक्स धनी र गरिब राष्ट्रहरूको खोपमा पहुँच न्यायिक होस् भन्ने उद्देश्यले स्थापना गरिएको हो ।

कोभ्याक्स कार्यक्रममा खोपको आपूर्ति कम भएर समस्या परिरहेको अवस्थामा चिनियाँ खोपले सो कार्यक्रमलाई निरन्तरता र बिस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार