रुपन्देहीको सिद्धार्थनगरमा विजयी जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।
बुधबार दिउँसो मतगणना स्थलबाट विजय जुलुससँगै निस्किएको लु१ख ८०७८ नम्बरको मिनि ट्रक सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटना भएको हो । सिद्धार्थनगर १० मा एमालेबाट वडा अध्यक्ष निर्वाचित सूर्जमान यादवको विजय जुलुसमा सहभागी भएका व्यक्ति चढेको सवारी साधन अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । वडाध्यक्ष यादवलाई भने केहि नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।
उनका अनुसार गम्भिर घाइते हुनेमा सिद्धार्थनगर नगरपालिका–१० का ३५ वर्षीय बुद्ध कुमार मुराउ, ५५ वर्षीय लक्ष्मण पासी, ६० वर्षीय हाँसी राजी लोनीया, २२ वर्षीय बुद्धिराम केवट, १४ वर्षीय राजीव केवट र १६ वर्षीय शैलेश हरिजन रहेका छन् ।
घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।