संवैधानिक परिषद् बैठकमा भाग नलिने देउवाको निर्णय

अन्य सदस्यलाई पनि भाग नलिन आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसले भाग नलिने भएको छ ।

सभापति शेरबहादुर देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने बताएका हुन् । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित भएको भन्दै उनले बैठकमा भाग नलिने जनाएका छन् ।

सभापति देउवाले सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्दै संसदीय मूल्य मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमै प्रहार गरेको भन्दै बैठकमा भाग नलिन परिषद्का अन्य सदस्यलाई समेत आग्रह गरेका छन् । सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक परिषद् सम्बन्धी ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावनाविपरीत, संसदीय मूल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु ।’

देउवाले लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन् । देउवाले संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य सरकारले गरेको पनि बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार