उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन ।

मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेको बा२५च ७८१९ नम्बरको कार मंगलबार राति अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार ५ जना घाइते भएका थिए ।

घाइतेमध्ये मोरङको विराटनगर महानगरपालिका– ५ चाँदनी चोकका ३४ वर्षीय देवेन्द्र चापागाईको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । कार अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको थियो ।

घाइतेहरुमा मोरङ विराटनगर महानगरपालिका– ५ चाँदनी चोकका चालक ३१ वर्षीय विशाल राय, २३ वर्षीय सुजन खतिवडा, २७ वर्षीय सागर घिमिरे र ३५ वर्षीय सुरज पौडेल रहेका छन् । उनीहरुलाई गाईघाटमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो हस्पिटल रिफर गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार