भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान मेयरमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्ना ज्वाइँ नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई हराएर मेयर बनेका हुन् ।
निर्वाचन आयोगका अनुसार सुरेन्द्रले १५ हजार ९८ मत पाएका छन् भने मदन सुन्दरले ११ हजार ३५ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका आशाहरि प्रजापतिले दुई हजार २५ मत पाएका छन् ।
उपमेयरमा भने नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनले १२ हजार १०२ मत पाएका छन् भने नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार ९६३ मत पाएकी छन् । नेपाल मजदुर किसान पार्टीकी दीक्षा बाडेले दुई हजार ७२२ मत पाएकी छन् ।
नगरका ९ वटा वडामध्ये ६ वटाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने दुई वटामा नेकपा एमाले र एउटामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । यो नगरपालिकामा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको थियो ।