बुद्ध दर्शनको महत्त्व झनै बढ्यो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध दर्शनको महत्त्व अहिले झनै बढेको बताएका छन् । अहिले विश्वमा युद्धसमेत भइरहेको भन्दै अहिंसा र शान्तिको बुद्ध दर्शन अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका बताएका हुन् ।

प्रधानमन्त्री देउवाले गौतमवुद्धले नेपाल र भारतलाई एक आपसमा भावनात्मकरूपमा जोडेको बताए । भगवान् बुद्धका कारण नेपाल र भारत भावनात्मक र धार्मिकरूपमा एक आपसमा जोड्न सकिएको समेत देउवाले बताए । उनले भने, ‘दुवै देशका नागरिकका लागि गौतम बुद्ध उत्तिकै श्रद्धेय हुनुहुन्छ, उहाँको अमूल्य दर्शन र शिक्षाले दुवै देशका नागरिकलाई नजिकबाट प्रभावित पारेको छ ।’ गौतमबुद्धले दिएका चार उपदेशले मानव जीवनलाई पापबाट मुक्त दिलाइरहेको समेत प्रधानमन्त्री देउवाले बताए ।

सोमबार बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विश्वमा युद्ध चलिरहेको कारण बुद्ध दर्शनको महत्त्व अहिले झनै बढेको बताएका हुन् । प्रधानमन्त्री देउवाले भने, ‘विश्वका विभिन्न भूभागका मानिसहरूले अहिले हिंसा, वैमनश्यता र युद्धको सामना गरिरहनुपरेको छ । सशस्त्र बन्ने होडबाजी आदि कारणले जनजीवन चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेशहरू अझै सान्दर्भिक र माननीय भएका छन् । पारस्परिक सम्मान, अहिंसा, सद्भाव आदि विश्वका लागि भगवान् बुद्धका सन्देशहरू अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेका छन् ।’

प्रधानमन्त्री देउवाले भगवान् बुद्धको जन्मभूमि लुम्बिनीलाई पुजेर राख्न सरकार प्रतिबद्ध रहेको भन्दै विश्वशान्तिका लागि लुम्बिनीको संरक्षण गर्ने बताए । नेपाल र भारतका तीर्थयात्रीहरूलाई जोड्न, मुक्तिनाथ, पशुपतिनाथ र लुम्बिनी फलदायी रहेको भन्दै बुद्ध दर्शनलाई चिनाउन नेपाल र भारतमा बुद्ध सर्किट बनाउन लागिपर्ने पनि बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार