नेटोमा सहभागी हुने फिनल्याण्डको औपचारिक घोषणा

कडा कदम चाल्ने रूसकाे चेतावनी

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तोलेले उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सदस्यताका लागि आवेदन दिने औपचारिक घोषणा गरेका छन् ।

राष्ट्रपति निनिस्तोले राजधानी हेलसिन्कीस्थित राष्ट्रपतीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेटोमा सदस्यताका लागि आवेदन दिने घोषणा गरेका हुन् ।

‘आज हामी राष्ट्रपति तथा सरकारको विदेश नीति समिति मिलेर फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिने निर्णय गरेका छौँ ।’ निनिस्तोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि गत बिहीबार राष्ट्रपति निनिस्तो तथा प्रधानमन्त्री सन्ना मारिनले आफूहरु नेटो सदस्यताको पक्षमा रहेको जनाएका थिए ।

लामो समयदेखि तटस्थताको नीति लिइरहेको फिनल्याण्डमा पछिल्लो समय रुसले युक्रेनमाथि आक्रमण गरेसँगै नेटो सदस्यताका लागि जनमत बलियो बन्दै गएको बताइन्छ ।

फिनल्याण्ड र रुसबीच १३ सय किलोमिटर लामो सीमा जोडिन्छ । फिनल्याण्डबाहेक अर्को उत्तर युरोपेली मुलुक स्विडेनले पनि नेटोमा सदस्यता दिनेबारे तयारी गरिरहेको रोयटर्सले जनाएको छ ।फिनल्याण्डलाई नेटोको सदस्यता नलिन रुसले पटक पटक चेतावनी दिदैँ आएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार