बुढीगंगाको विवाद समाधान गर्न निर्वाचन आयुक्त टोली आउँदै

बाजुराको बुढीगंगा नगरपालिकामा मतदानको क्रममा उत्पन्न भएको विवाद समधान गर्न निर्वाचन आयुक्तको टोली जानेको भएको छ । शनिबार जिल्ला निर्वाचन व्यवस्थापन समितिद्वारा सर्वदलीय बैठक आयोजना गरिएको भए पनि दलहरुबीच सहमति हुन सकेन । एमालेले यथास्थितमा मतगणना हुनुपर्ने अडान राखेको छ भने कांग्रेसले पुनः मतदानको माग गरिरहेको छ ।

तर निर्वाचन आयोगले भने शनिबार राति सूचना जारी गर्दै बुढीगंगा नगरपालिकाका सबै वडाका सबै मतदान केन्द्रको निर्वाचन स्थगित गरी पुनः निर्वाचनको तयारी गरेको जनाएको छ । थप अध्ययनका लागि आइतबार निर्वाचन आयूक्त सगुन शमशेर जबरासहितको टोली बाजुरा आउन लागेको छ ।

बुढीगंगा नगरपालिकाका मतदान केन्द्रहरुमा मतदानका दिन झडप, उम्मेदवारमाथि कुटपिट, उम्मेदवारहरुले नै मतदान गर्न नपाई लखेटिएका, बुथ कब्जा, ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएका, सुरक्षाकर्मीले मतेपटिका मतदान केन्द्रमै छाडेर हिँडेका, पालिकास्थित निर्वाचन अधिकृतलाई नियन्त्रणमा राखेको र अधिकृतले असुरक्षित भएको भन्दै राजीनामा दिएको, मत पेटिकाहरु निर्वाचन कार्यालयले बुझ्न नमानेको लगायत घटना भएका थिए ।

नगरपालिकाका कूल १० वटा वडामध्ये २, ३, ४, ५, ७ र ९ नम्बर गरी ६ वटा वडाका मतदान केन्द्रहरुमा स्वतन्त्र मतदान हुन सकेन । २, ३, ५ र ९ नम्बर वडाका मतदान स्थललाई नेकपा एमालेका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका थिए भने कांग्रेस कार्यकर्ताहरुले वडा नम्बर ४ र ७ लाई नियन्त्रणमा लिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार