राष्ट्रिय सभा सदस्यका लागि बादल र देवकोटासहित तीन जनाले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको लागि जेठ ६ गते हुने उपनिर्वाचनका लागि स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा र नेकपा एमालेबाट रामबहादुर थापा बादलको उम्मदेवारी परेको छ ।

वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीले निर्णय गरेपछि सिम्रिक एयरको हेलिकप्टरबाट एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितका हेटौंडा पुगेका बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन् । समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।

सङ्घीयताविद् डा देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र, वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन् । देवकोटालाई भने उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको समर्थन रहेको छ ।

यस्तै राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।

राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा बादलको ठाउँमा उपनिर्वाचन हुने भएको हो । २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट थापा यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ। सोही अनुसार निर्वाचन हुन् लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार