रौतहटमा स्थानीयले लुटेको मतपेटिका फिर्ता

रौतहटको यमुनामाई गाउँपालिका–२, भेडीयाही गाउँ स्थानीय लुटेर लगेको मतपेटिका प्रहरीले फिर्ता लिएको छ । फितलो सुरक्षा व्यवस्थाका कारण सुरक्षाकर्मीबीचबाटै मतपेटिका लुटिएको थियो । घटनापछि प्रहरी प्रधान कार्यालयले रौतहटका एसपी विनोद घिमिरेलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

स्थानीयले मतपेटिका काँधमा राखेर भागे पनि सुरक्षाकमीले रोक्न सकेनन् । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार भेडियाही मतदान केन्द्रमा ३० प्रतिशतमात्र मतदान भएको थियो । ‘स्थानियले लुटेर लगेको मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएका छन्,’ उनले भने,‘सुरक्षा व्यवस्था फितलो होइन । बल प्रयोग गर्नुअघि विवाद मिलाउन छलफल गर्ने भन्दै गर्दा केही व्यक्ति आएर मतपेटिका उठाएर लगे ।’

बिहान उत्साहपूर्वक त्यस मतदानकेन्द्रमा मतदाताहरु लाइन बसेर मतदान गरेका थिए । दिउँसो समान्य विवाद भएपछि सुरक्षाघेराबाट मतपेटिका लुटिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार