प्राइम लाइफसँग युनियन र गुराँस लाइफ गाभिने

तीन बीमा कम्पनीले मर्जरको थयारी थालेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्यारेन्स कम्पनी गाभिन लागेका हुन् । प्राइम लाइफ इन्स्यारेन्स कम्पनीमा गाभिनका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ ।

बीमा समितिले एक वर्ष भित्र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब पुँजी पुर्याउन निर्देशन दिएसँगै यी तीन कम्पनी मर्जको लागि जुटेका हुन् ।

हालै मात्र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक-आपसमा गाभिने (मर्जर) मा जान एमओयू गरेका छन् । साथै, प्रिमियर इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्स मर्जको लागि तयारी थालेका छन् ।

हालसम्म जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै पुँजी नेपाल लाइफ इन्स्योरेन्सको ८ अर्ब रुपैयाँ छ । यी तीन वटा कम्पनी मर्जरमा गएसँगै चुक्ता पुँजी धेरै पुग्ने देखिन्छ ।

प्राईम लाइफको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख, युनियन लाइफको दुई अर्ब १५ करोड र गुराँश लाइफको चुक्ता पुँजी दुई अर्ब ८ करोड ४२ लाख रुपैयाँ रहेको छ । मर्जरपछिको पुँजी ७ अर्ब बढी हुनेछ ।

एक वर्षको अवधि दिएर पुँजी बढाउन समितिले निर्देशन दिएपछि यतिबेला अन्य बीमा कम्पनीहरु मर्जरका लागि पार्टनरको खोजीमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार