गण्डकी प्रदेशमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ६ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा पोखरा र बागलुङका अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–३ का ८७ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको हो । उनलाई २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय कोरोना संक्रमित पुरुष र म्याग्दी जिल्ला धौलागिरी गाँउपालिका–२ की ७२ वर्षीय महिलाको आज बिहान मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो । उनीहरु दुवैलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१७ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मणिपाल शिक्षण अस्पताल पोखरामा हिजो बेलुका पौने ७ बजे निधन भएको हो । उनलाई २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत बागलुङ नगरपालिका वडा नं. ४ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । मृतकमा वैशाख २० गते धौलागिरी अञ्चल अस्पतालमा भर्ना भएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरि स्वास प्रश्वासमा समस्या आएर बुधबार धौलागिरी अञ्चल अस्पतालमा भर्ना भएको म्याग्दीको बेनी नगरपालिका–१ का ३३ वर्षीया पुरुषको बुधबार राती नै मृत्यु भएको छ । उनलाई सघन उपचार कक्षमा राखेर उपचार भैरहेको थियो । उनी अक्सिजनको मात्रा निकै कम पुगिसकेको अवस्थामा अस्पताल पुगेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार