वाणिज्य बैंकहरूको जेठमा पनि निक्षेपको ब्याजदर नबढ्ने

वाणिज्य बैंकहरूले जेठमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाउँदा पनि थप निक्षेप नआउने निष्कर्षका आधारमा बैंकहरुले जेठका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् ।  केही दिन अगाडि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जेठ महिनामा ब्याजदर बढ्ने बताएका थिए ।

निर्वाचनको लागि खर्च भएको सरकारको विकास खर्च समेत बढ्ने क्रममा रहेको हुँदा जेठ महिनामा ब्याजदर नबढाउने निर्णय भएको बताइएको छ ।  वाणिज्य बैंकले एक वर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । वाणिज्य बैंकले ब्याजदर नबढाउने भद्र सहमति गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीको समेत ब्याजदर नबढ्ने भएका छ ।

ब्याजदर बढाउँदा निक्षेप बढ्ने नभई अस्थिरता मात्र ल्याउने हुँदा ब्याजदर स्थिर राख्ने निर्णय भएको हो ।

गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढाएका थिए । फागुनमा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए ।

सहमति अनुसार बैंकहरुले सोही ब्याजदर प्रकाशित गर्ने भएकाले जेठ महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् । वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरिसके पनि विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनहरुले भने निर्णय गरेका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार