रिभर फल्स पावरको आईपीओ खुल्याे

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज बुधवारदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो ।

सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी रहेको २५ लाख ३८ हजार नौ सय कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

निष्कासित शेयरमा लगानीकर्ताले आजदेखि छिटोमा आउँदो जेठ ४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा मागअनुसार आवेदन नआए आउँदो जेठ ११ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत मेरो शेयर प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार