प्रतिनिधिसभाका चार सांसद र दुई कर्मचारीमा कोरोना पुष्टि

प्रतिनिधिसभाका चारजना सांसद र दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएकोमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् । यस्तै एक उपसचिव र एक जना सुब्बालाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

बिहीबार आएको सभामुख र सभामुखको सचिवालयका सबै कर्मचारीको रिपोर्ट भने नेगेटिभ भएको सभामुखको सचिवालयले जनाएको छ ।

कतिपय सांसद यसअघि नै संक्रमित भएर अस्पताल र आइसोलेसनमा छन् । योसँगै प्रतिनिधिसभाका कूल ११ सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, नेपाल सरकारका तीन मन्त्रीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसका लागि सांसदको कोरोना परीक्षण गरिएको हो ।

Loading...