काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ पुगिसकेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा १० खर्ब १६ अर्ब रुपैयाँमा सीमित थियो, जुन यो वर्षको भन्दा २८ प्रतिशतले कम हो ।
नेपालसँग व्यापार सम्बन्ध रहेका अधिकांश मुलुकसँग निर्यातको कमी नै प्रत्येक वर्ष ठूलो मात्रामा व्यापार घाटा बेहोर्नुको मुख्य कारण रहेको देखिन्छ । चालू आर्थिक वर्षको यस अवधिमा नेपालले विश्वका १६२ देशसँग व्यापार गरेको छ । यीमध्ये १३० मुलुकसँगको व्यापार घाटामा छ । बाँकी ३२ मुलुकसँगको व्यापारमा मात्रै नाफा देखिएको छ ।
गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यस वर्षको सोही अवधिको तुलनामा नेपालको व्यापार घाटा थप चुलिएको देखिन्छ । उच्च गतिमा आयात बढ्नु अनि सोही गतिमा निर्यात नबढ्नु नै व्यापार घाटा चुलिनुको मुख्य कारण हो । यस अवधिमा विदेशबाट १४ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ ।
गत आर्थिक वर्षको ९ महिनामा यस्तो आयात ११ खर्ब ११ अर्ब रुपैयाँ थियो, जुन यो वर्षको ९ महिनामा भएको आयातको तुलनामा ३१ प्रतिशतले कम हो । यस्तै गत वर्षको ९ महिनामा ९४ अर्बमा सीमित नेपालको निर्यात १ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको तुलनामा ६९ प्रतिशतले निर्यात बढे पनि आयातको तुलनामा उल्लेख्य गतिमा बढ्न सकेको छैन ।