भारतीय वायु सेनाको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ । जेठ २ गते बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनको पूर्वतयारीका लागि बिहीबार बिहान उक्त विमान उवतरण गरेको बताइएको छ ।
विमानमा भारतीय सैनिक अधिकारीको टोली र अतिविशिष्ट पाहुनाहरूले प्रयोग गर्ने सवारीलगायत अन्य बन्दोबस्तका सामग्रीहरू रहेको विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले बताए ।
भारतीय एयरफोर्सको आईएल ७६ इलुसिन विमान १९२ तौलसहितको सामग्रीसहित अवतरण गरेको उनले बताए । यो गौतम बुद्ध विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय उडानसमेत हो । पहिलो अन्तर्राष्ट्रिय उडान अवतरण गरेकाले विमानस्थलका कर्मचारीहरूले विमानमा आएका सबैलाई खादा ओडाएर स्वागत गरेका थिए ।