बेन्जेमाको दुई गोलमा रियल विजयी

करिम बेन्जेमाले दुई गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेल्टा भिगोलाई ३–१ गोलले पराजित गरेको छ । बेन्जेमाले लगातार छैटौँ खेलमा गोल गर्न सफल भएका हुन् । सब्सिच्युट मार्को एसेन्सियोले अर्को गोल गर्दा घरेलु टोली सेल्टाका सान्टि मिनाले एक गोल फर्काए । एवान्का बलाइडोसमा शनिबार राति भएको खेलमा रियलले खेलको २०औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए ।

त्यसको १० मिनेटपछि उनले अग्रता दोब्बर बनाए । तर, ४० औँ मिनेटमा सान्टी मिनाको शक्तिशाली हेडरको मद्दतले सेल्टाले एक गोल फर्काउन सफल रह्यो । दोस्रो हाफमा सेल्टाले रियलमाथि दबाब बनाए पनि गोल गर्नबाट भने चुक्यो । खेलको इन्जुरी समयमा एसेन्सियोले गोल गर्दै रियलको जीत सुनिश्चित गरे । जीतसँगै रियल चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई उछिन्दै लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । रियलको २८ खेलबाट ६० अंक पुगेको छ । शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडको २७ खेलबाट ६३ तथा तेस्रो स्थानका रहेको बार्सिलोनाको ५९ अंक छ । पराजित सेल्टा ३४ अंक जोडेर ११औं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार