लागतअनुसार मूल्य समायोजन गरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यवस्था आगामी बजेटमार्फत गरिने भएको छ। बढ्दो आयात नियन्त्रण गर्ने र विदेशी मुद्रा सञ्चिति बढाउने विषयमा २२ चैतमा अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले पेट्रोल लागत मूल्यमै बेच्न निर्देशन दिएका थिए । उक्त छलफलमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य सचिव, अर्थरराजश्व सचिव, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजश्व विभागका महानिर्देशक तथा योजना आयोगका उपाध्यक्ष उपस्थित थिए । नेपाल आयल निगमको सञ्चालक समितिको अध्यक्षमा वाणिज्य मन्त्रालय सचिव रहने व्यवस्था छ।
तर उक्त नीति लागू नभएपछि उक्त व्यवस्था आगामी बजेटमार्फत गरिने भएको हो। नेपाल आयल निगम ३५ अर्ब रुपैयाँ घाटामा गएपछि सरकारले भारतबाट जतिमा आउँछ त्यतिमै पेट्रोलियम पदार्थ (परल मूल्यमा) बिक्री गर्ने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने योजना बजेटमार्फत अगाडि बढाउन खोजेको हो ।
निगमले पेट्रोलियम पदार्थको घाटा थेग्न नसक्ने भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आफ्नो तर्फबाट पेट्रोलियम खपत घटाउने विभिन्न उपाय प्रस्ताव गर्दै आएको छ । जसमा पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउन पर्ने समेत निगमले प्रस्ताव गरेको थियो।
निगमका अनुसार सरकारले भन्सार महसुल, मूल्य अभिबृद्धि कर, पूर्वाधार शुल्क लगायत गरी पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँसम्म कर लिने गरेको छ।
पेट्रोलियम पदार्थमा भइरहेको नोक्सान परिपूर्तिको क्रममा निगम स्रोतबिहीन भएको छ। यसअघि वाणिज्य बैंकहरूमा रहेको संस्थाको निक्षेप र आफ्नो कोषको रकम समेत सकिएको छ। गत १८ वैशाखमा प्राप्त आईओसीको नयाँ बिक्री मूल्य अनुसार नेपालमा पेट्रोलको लागत मूल्य १८३ रुपैयाँ २ पैसा र डिजेलको १८३ रुपैयाँ १३ पैसा छ । निगमले अहिले पेट्रोल प्रतिलिटर १६० र डिजेल प्रतिलिटर १४३ रुपैयाँमा बिक्री गर्दै आएको छ ।
हालको बिक्री मूल्यलाई परल मूल्यमा लगिए पेट्रोलको मूल्य लिटरमा २३ रुपैयाँ २ पैसा र डिजेलको मूल्य ४० रुपैयाँ १३ पैसा प्रतिलिटर एकै पटकमा वृद्धि हुने अवस्था छ । सरकारले अपुग रकम जुटाउन सहयोग नगरेपछि निगमले इन्धन खरीदको रकम भारतीय आयल कर्पोरेसन (आईओसी) लाई तिर्न नसकेर यो महिना उधारो राख्ने अवस्था आएको छ ।
अंग्रेजी महिनाको ८ तारिखमा आईओसीलाई तिर्नुपर्ने २६ अर्बमध्ये १३ अर्ब रुपैयाँ अपुग भएको छ । स्वचालित मूल्य प्रणाली लागू गर्ने कार्यक्रम बजेटमा आएपछि वाणिज्य मन्त्रालयमार्फत यो कार्यान्वयन हुनेछ । सरकारले बजेटमार्फत पेट्रोलियमको स्वचालित मूल्य निर्धारण गर्यो भने पछिल्लो समय आएकोनयाँ बिक्री मूल्य अनुसार नेपालमा पेट्रोलको लागत मूल्य १८३ रुपैयाँ २ पैसा र डिजेलको १८३ रुपैयाँ १३ पैसा पुग्नेछ । यस्तै खाना पकाउने ग्यासको मूल्य २५२८ रुपैयाँ पुग्ने छ।