वैशाख ३० गते शुक्रवार हुने स्थानीय चुनावको तयारी पूरा भइसकेको छ । केन्द्रबाट गर्नुपर्ने सबै तयारी सकिएको छ । केन्द्रले जिल्लामा पठाउनु पर्ने सबै सामग्री पनि पठाइ सकिएको छ। सबै नीतिगत निर्देशन अनि मतपत्र पनि गइसकेको छ । त्यसकारण अहिले जिल्लामा कार्यचाप बढेको छ ।
निर्वाचन कार्यालयले चुनावका लागि चाहिने सबै ५८ प्रकारका सामग्रीको छुट्टाछुट्टै प्याक बनाएर मतदान अधिकृतलाई बुझाउने अथवा बुझाउँदै गरेको अवस्था छ भने अर्कोतर्फ मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम धेरै ठाउँमा सम्पन्न भइसकेको छ भने कतिपय ठाउँमा नजिकको मतदान अधिकृतलाई तालिम दिने र सामग्री बुझाउने काम हुँदैछ ।
अर्कोतर्फ मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि तालिम सञ्चालन गर्ने, संयोजन गर्ने तथा केन्द्रबाट गएका मतपत्रहरु मतदान केन्द्रगत रुपमा प्याकिङ गरेर मतदान अधिकृतलाई बुझाउने काम भएको छ।
मतदान केन्द्रमा चाहिने कर्मचारीहरु खटाउने, मतपत्र बुझाउने, चुनावका लागि आवश्यक सामग्री मतदान टोलीलाई बुझाएर मतदान केन्द्रतर्फ लाग्ने काम भइरहेको छ । साथै जिल्लाबाट आचारसंहिताको अनुगमन पनि भइरहेको छ ।
मतदाताको तयारी
मतदान गर्नुअघि कहाँ मतदान गर्ने, कहिले मतदान गर्ने, किन मतदान गर्ने र कसरी मतदान गर्ने सबै बुुझ्नुपर्छ । यसको अर्थ आफ्नो मतदान केन्द्र कहाँ हो जानकारी हुनुपर्यो । अर्को कुरा मतदान गर्न जाँदा मतदाता परिचय पत्र लिएर जानुपर्यो ।
यदि आयोगले पछाडि कुनै सूचना जारी गरेर यदि मतदाता नामावलीमा नाम छ, तर परिचय पत्र भेटिएन भने अब बनाउन त सकिँदैन । तर मतदाता परिचय पत्र नभएका त्यस्ता मतदाताहरु हुनुहुन्छ जसको मतदाता नामावलीमा नाम छ भने उहाँहरुले अन्य परिचय खुल्ने कागजातहरुबाट पनि मतदान गर्न पाइने सूचना जारी गर्यो भने ती कागजात लिएर गएर पनि मतदान गर्न सकिन्छ ।
तर, मुख्य कुरा आयोगले वितरण गरेको मतदाता परिचय पत्र जतनसाथ राख्नुपर्यो । यदि कतै परेको छ भने खोज्नु पर्यो । खोजेर ठीक पार्नु पर्यो । त्यसपछि मतदान केन्द्रमा गएर मतदान गर्ने। कहिले भन्दा ३० गते ।
मतदान गर्दा सात जनालाई छान्नु पर्ने हुन्छ । आफ्नो गाउँरनगरको अध्यक्ष अथवा प्रमुख अनि उपाध्यक्ष वा उपप्रमुख अनि वडाको वडाध्यक्ष र चार जना वडा सदस्यहरुलाई छान्नुपर्ने हुन्छ ।
पहिलो ठाडो लहर नगरपालिका भए प्रमुख अनि गाउँपालिका भए अध्यक्षको, दोस्रो ठाडो लहर उपप्रमुख तथा उपाध्यक्षको, तेस्रो ठाडो लहर वडाध्यक्षको, चौथो ठाडो लहर महिला सदस्यको, पाँचौँ ठाडो लहर दलित महिला सदस्यको हुन्छ । यसरी पहिलोदेखि पाँचौँ ठाडो लहरमा एक छाप लगाउने । एक, एक छाप लगायो भने हाम्रो मत खेर जाँदैन ठीक तरिकाले हुन्छ । किनकि यी सबै पदमा एक, एक जना छान्नुपर्ने हुन्छ ।
स्वीकृति लिएर गाडी
मतदानको दिन शान्ति सुरक्षाको दृष्टिकोणले गाडी चलाउन बन्द गरिएको छ । किनकि गाडी चल्यो भने त्यस्तै खालका प्रवृतिका मान्छेहरु ओहोर दोहोर गरेर मतदान केन्द्रमा बाधा पुर्याउन सक्ने हुनाले स्थानीय प्रशासनले गाडी चलाउन निषेध गरेको छ ।
उम्मेदवारले पास लिएर अथवा निर्वाचन अधिकृतले अनुमति दिएर उम्मेदवारले गाडी चलाउन सक्नुहुन्छ । अथवा उम्मेदवारको निर्वाचन प्रतिनिधिले त्यो अधिकार प्राप्त गर्नुहुन्छ । त्यसैगरी गाडी पास अनुमति लिएका पर्यवेक्षक वा पत्रकारहरु र अत्यावश्यक सेवा प्रवाह गर्ने केही गाडीहरु चलेका हुन्छन् त्यो बाहेका सुरक्षाकर्मीका गाडीहरु भइहाले त्यो बाहेक अरु गाडीलाई अनुमति दिइएको हुँदैन ।
आचारसंहितामा के भनिएको छ भने अशक्त, अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदान अधिकृत वा निर्वाचन अधिकृतको स्वीकृति लिएको गाडी चलाउन पाइन्छ भन्ने छ । तर, यो एकदमै जटिल र विवादित विषय पनि हो । किनकि पास चाहिँ उहाँहरुको नाममा लिने तर पार्टी कार्यकर्ताले आफ्ना मान्छे ओसारपसार गर्ने देखिएको छ । यसले गर्दा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा गर्न पासमा असाध्य कडाइ गरेको छ ।
आचारसंहिता पालनामा सुधार
यस पटक विगतको चुनावको दाँजोमा आचारसंहिता पालन भएको रुपमा आयोगले मूल्याङ्कन गरेको छ । हामीले पहिले सहर बजार जताततै ठूलाठूला तुल, ब्यानर, फ्लेक्सहरु, पोष्टर, पम्प्लेट, झण्डाहरु देख्थ्यौँ । तर, अहिले पछिल्लो चुनावमा यो साह्रै नै कम भएको छ । त्यो भनेको राजनीतिक दलहरुले पनि आचारसंहिता पालना गर्नु भएको हो । यसमा शुभेच्छुक तथा समर्थकको पनि ठूलो भूमिका छ । अझै पनि कतिपय ठाउँमा गाडीमा व्यापक झण्डाहरु प्रयोग गर्ने, तुल ब्यानर राख्ने देखिएको छ । यी चिजहरु हट्नु पर्छ । आयोगले अनुगमन गरेर यसलाई पनि हटाउन लगाएको छ ।
अचारसंहिता पालना गराउने क्रममा कहीँकहीँ झण्डाहरु पोल पोलमा राख्ने काम भएकोमा त्यसमा पनि आयोगको अनुगमन टोलीले देखेसम्म त्यसलाई हटाउने काम गरेको छ । त्यसैगरी आम सभामा बढी झण्डा तथा तुल प्रयोग गर्ने गरेकोमा स्थानीय प्रशासनले देखेसम्म त्यसलाई हटाउने गरेको छ । यो क्रम अलि अलि उल्लङ्घन भएको छ । तर, धेरै घटाउने काम नै भएको छ । साथै कहीँ उजुरी परेका आधारमा स्पष्टीकरण सोध्ने, चित्त नबुझेमा पुनः स्पष्टीकरण सोध्ने, अब आइन्दा यस्तो नगर्नुस् भनेर सचेत तुल्याउने काम भएको छ ।