नेकपा एमालेले पोखरामा आयोजना गरेको चुनावीसभा (फोटोमा)

पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी प्रचार–प्रसारमा केन्द्रित छन् । दैनिक जसो देशका विभिन्न ठाउँमा चुनावी सभाको आयोजना भइरहेका छन् । शिर्ष नेताहरु चुनावी सम्बोधनमा व्यस्त छन् । चुनावी सभामा सम्बोधन गर्न नेताहरुलाई भ्याई नभ्याई छ ।

यसै क्रममा सोमबार प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पोखरामा चुनावी सभाको आयोजना गरेको थियो । उक्त चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

 

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गरे ।‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्न खोजियो, बंग्याएर प्रस्तुत गर्न खोजियो,’ उनले भने, ‘मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् कि क्याहो भन्ने भयो । मैले शास्त्रका कुरा गर्छु, उनीहरु उखान टुक्का भन्छन् ।’ उखान टुक्का आफूले नभई कांग्रेसका नेताहरुले प्रयोग गर्ने उनको भनाइ थियो ।

 

साथै ओलीले चुनावमा धाँधली हुनसक्ने जिकिर गरेका छन् । एमाले शान्तिको पक्षमा रहेको र शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा रहेको उल्लेख गर्दै ओलीले नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क समेत गर्न नहुने बताए ।उनले पाँच दलीय गठबन्धन भोटले जित्ने नभइ मतपत्र च्यात्ने, चपाउने र निल्ने रणनीतिमा रहेको जिकिर पनि गरे ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार