विप्लव संसद्वादमा फसिसकेकाले पार्टी पुनर्गठन गरेका हौँ : बास्तोला

नेकपा संयोजक धमेन्द्र बास्तोलाले नेत्रविक्रम चन्द ‘विप्लव’ संसदवादमा फसेकाले नयाँ पार्टी गठन गरेको स्पष्ट पारेका छन् । नयाँ पार्टी गठनसँगै चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा फुटेको छ । पार्टीमा असन्तुष्ट रहेका धर्मेन्द्र बास्तोला नयाँ पार्टीको संयोजक चयन भएका छन् ।

बास्तोलाले पत्रकार सम्मेलन गरेर सोमबार नयाँ पार्टी गठन भएको जानकारी गराएका छन् । उनले नयाँ पार्टीको नाम ‘नेकपा (बहुमत)’ रहेको जानकारी दिए । नयाँ पार्टीको नेतृत्व पनि बास्तोलाले नै गर्ने भएका छन् ।

‘तत्कालीन महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा संसद्‌वादमा फसिसकेकाले पार्टी पुनर्गठन गरेका हौं’ बास्तोलाको भनाइ थियो । त्यस्तै, आफूहरूमाथि आर्थिक अनियमिताको आरोप गलत रूपमा लगाइएको पनि उनले बताए ।

गत चैतमा भएको केन्द्रीय समिति बैठकको निर्णय विपरीत चन्द गएपछि नयाँ पार्टी गठन गर्नुको विकल्प नभएको बास्तोलाको भनाइ थियो । उनले भने, ‘पार्टी चुनावमा नजाने भएपछि पनि प्रवक्ता पार्टी चुनावमा जाने, पार्टी दर्ताको प्रयास गर्ने, चुनावमा केन्द्रीय समिति सदस्य उठाउने र उठाउन प्रयत्न गर्ने काम भयो । पार्टी नीति बाहिर चुनावमा उठाउने र कतिपय केन्द्रीय समिति सदस्यहरू त एमालेको चुनाव चिह्न लिएर चुनावमा जान लालायित भएपछि यसरी समय बर्बाद गर्नु ठीक हुँदैन भनेर भेला गर्‍यौं र बहुमत पार्टी सदस्यले नेकपा बहुमत भनेर पुनर्गठन गरेका छौं ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार