अडलट कारोबार नगर्न नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अडलट कारोबार नगर्न ब्रोकर कम्पनीलाई निर्देशन दिएको छ । धितोपत्र कारोबार सम्बन्धमा बनेको कानूनी व्यवस्थाको प्रावधान विपरीत सदस्य दलाल व्यवसायीको टिएमएस प्रणालीबाट अनलाइन तथा अफलाइनमार्फत समेत अडलट कारोबार नगर्न नगराउन नेप्सेले कडा निर्देशन दिएको हो ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम(५)को उपविनियम(१)मा कारोबार हुने धितोपत्र सेयर वा सामूहिक लगानी प्रयोजनको ईकाई भएमा अंकित मूल्य रु. १० भएमा १०० कित्ता र अंकित मूल्य रु. १०० भएमा १० कित्ता कारोबार इकाई हुने व्यबस्था  छ ।

साथै, सोही विनियमको उपविनियम(२)मा भएको व्यवस्था बमोजिम धितोपत्र ऋणपत्र भएमा अंकित मूल्य रु. १० भएमा १०० कित्ता र संस्थापक ऋणपत्रको अंकित मूल्य रु. १००० भएमा १ कित्ता कारोबार इकाई हुने उल्लेख छ ।

सोही विनियमको उपविनियम(३) बमोजिम उपविनियम (१) र (२) मा उल्लिखित कारोबार इकाईभन्दा कम परिमाणको धितोपत्र अडलट हुनेछ र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिनेछ, तर कारोबार इकाई वा सोभन्दा बढी धितोपत्र भएका धितोपत्रधनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न पाइने छैन भन्ने कानूनी व्यवस्था रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार