सङ्क्रमित गर्भवतीको उपचार केन्द्र बन्यो शिक्षण अस्पताल

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पताल यस क्षेत्रका कोरोना सङ्क्रमित गर्भवतीको उपचार केन्द्र बन्न पुगेको छ । कोरोना सङ्क्रमित त्यसमा पनि गर्भवतीले अन्यत्र अस्पतालमा उपचार नपाएर अलपत्र पर्ने अवस्थाको अन्त्य गर्दै शिक्षण अस्पताल कोहलपुरले जटिल परिस्थितिमा रहेका सङ्क्रमित गर्भवतीलाई समेत भर्ना गरेर उपचार गर्दै आएको छ ।

वितेको एक हप्तामा मात्रै शिक्षण अस्पताल कोहलपुरमा तीन सङ्क्रमित गर्भवती सुत्केरी भएका छन् । त्यसमा दुईको जटिल अवस्थामा शल्यक्रिया गरेर शिशुको जन्म गराएको अस्पतालका सहनिर्देशक डा नितेश कनौडियाले बताए । उनका अनुसार आजमात्रै भूमे गाउँपालिका–४ रुकुम निवासी ३२ वर्षीया महिलाको शल्यक्रियामार्फत छोरीको जन्म गराइएको हो । वैशाख २० गते राति ९ बजेतिर अस्पताल भर्ना उनलाई कोरोना जाँच गर्दा सङ्क्रमण देखिएको थियो ।

शिशु जन्मिने मिति एकहप्ता पार हुँदा समेत प्रसूति व्यथा नलागेपछि अवस्था जटिल हुन सक्ने आङ्कलनमा उनको शल्यक्रियामार्फत शिशु निकालिएको शल्यक्रियामा संलग्न स्त्री रोग विशेषज्ञ डा कविता सिन्हाले बताइन् । उनका अनुसार शिशुको तौल २ दशमलव ७ किलो छ । आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा सिन्हाले बताइन् ।

एकहप्ताकै अन्तरमा शिक्षण अस्पताल कोहलपुरमा तीन जना सङ्क्रमित सुत्केरी भएका छन् । सुर्खेत भेरीगङ्गा नगरपालिका वडा नं ११ निवासी २२ वर्षीया गर्भवतीको नर्मल सत्केरी भएको थियो । उनलाई स्वास्थ्य लाभपछि घर पठाइसकिएको डा सिन्हाले बताइन् ।

सुत्केरी व्यथाले च्यापेपछि अस्पताल पुगेकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ निवासी ३२ वर्षीया सङ्क्रमित गर्भवतीको शल्यक्रियामार्फत शिशुको जन्म गराएको थियो । यसबाहेक शिक्षण अस्पताल कोहलपुरमा हाल तीन सङ्क्रमित सुत्केरी छन् । शिक्षण अस्पताल नेपालगञ्जमा शल्यक्रियामार्फत सुत्केरी भएकी नेपालगञ्जकै महिलालाई पनि कोहलपुर सारिएको छ । ती महिलामा शल्यक्रियामार्फत शिशुको जन्म गराएपछि रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै गर्भपतनपछि रक्तश्राव नरोकिएकी सङ्क्रमित महिला पनि अस्पताल भर्ना भएकी छन् । चौबीस हप्ताकी सङ्क्रमित गर्भवती पनि अस्पतालमा भर्ना भएकी छन् । अस्पतालमा उपचाररत उनीहरू सबैको अवस्था सामान्य छ ।

शिक्षण अस्पताल कोहलपुरमा गत वर्ष कोरोनाको महामारीको बेला पनि चार सङ्क्रमित गर्भवतीको शल्यक्रियामार्फत शिशुको जन्म गराएको थियो । पश्चिम नेपाललमै कोरोना सङ्क्रमित गर्भवतीको प्रसुती तथा शल्यक्रिया सेवा शिक्षण अस्पताल कोहलपुरले दिँदै आएको छ । यहाँ लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट समेत शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरू प्रेषित भएर आउने गरेको अस्पतालका कोभिड स्रोत व्यक्ति डा दिनेश श्रेष्ठले बताए । उनका अनुसार, गर्भवती शल्यक्रियामा डा सिन्हासहित प्रोफेसर डा मीना सिन्हा, डा गोमा रिमाल, शैलेन्द्र शाक्य, नर्स सरस्वती श्रेष्ठ, हेमा शाही, अम्बी महराको समूह संलग्न छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार