आफैँले पालेको राँगाले हान्दा मृत्यु, प्रहरीद्वारा गोली प्रहार

लमजुङ, सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर  गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार  राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

थप घटना हुन नदिनका लागि प्रहरीले राँगालाई गोली हानेर मारेको छ । सो राँगोले केही दिनअघिबाटै दिमाग ठीक नभएको सङ्केत गरे पनि आफैँले पालेको राँगोले केही नगर्ला भनेर राँगो समात्न जाँदा सो घटना हुन पुगेको स्थानीयवासीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार