चितवनमा छुरा प्रहारबाट २८ वर्षीय युवकको हत्या

चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो । भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ बजेतिर परियारलाई अज्ञात समूहले छुरा हानेको हो ।

चितवन प्रहरीका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । डीएसपी अधिकारीका अनुसार परियारलाई घुँडाबाट माथि १० भन्दा बढी ठाउँमा छुरा हानिएको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार