आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि

स्थानीय तहको निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेमा सत्तापक्ष अगाडि देखिएको छ । सरकारमा रहेर निर्वाचन आचारसंहिता कडाइ गर्न र पालना गर्न सहयोग गर्नुपर्नेमा सबैभन्दा बढी उल्लंघन गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा नै देखिएका छन् ।

आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री देउवाको चर्को आलोचना भइरहँदा पनि निर्वाचन आयोगले नोटिसमा राख्ने काम मात्रै गरेको छ । गत बुधबारबाट निर्वाचन उल्लंघन गर्न उद्दत देखिएका प्रधानमन्त्री देउवाले सरकारी खर्चमा हेलिकोप्टरसम्म प्रयोग गरेका छन् । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई आफू पार्टीको कार्यक्रममा जान लागेको जानकारी गराए पनि उनी सरकारी खर्चमा चुनावी देश दौडाहमा हिडिँरहेका छन् ।

निर्वाचन आयोगका कर्मचारीका अनुसार प्रधानमन्त्रीबाट सुरक्षाकर्मीको स्कर्टिङबिना केवल निजी सुरक्षाकर्मी (पीएसओ) मात्रै लिएर जान लागेको र कुनै पनि सरकारी स्रोतसाधन प्रयोग नगर्ने गरी पार्टीको कार्यक्रममा जाने भनी सूचित गरिएको थियो । तर, शनिबार भएको चुनावी सभामा प्रधानमन्त्री देउवा सेनाको हेलिकोप्टर प्रयोग गरेर तीन जिल्लाको कार्यक्रममा सहभागी भए ।

बुटवलको सभामा उनले सम्बोधन गर्दै गठबन्धनको पक्षमा आम मतदातासँग भोट मागे । साथै सत्तारूढ दललाई चुनाव जिताउन आह्वान नै गरे । बुटवलको चुनावी सभा सकेर उनी तनहुँको दमौली, धनुषाको जनकपुरमा चुनावी कार्यक्रममा सहभागी भए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार