मानसिक बिरामीका लागि १० शय्या छुट्याउन मन्त्रालयको निर्देशन

स्वास्थ्य मन्त्रालयले मानसिक बिरामीका लागि १० शय्या छुट्याउन १३ अस्पताललाई निर्देशन दिएको छ।मन्त्रालयले ‘मानसिक स्वास्थ्य अन्तरङ्ग सेवा सञ्चालन निर्देशिका, २०७८’ स्वीकृत गरी १० शय्या मानसिक स्वास्थ्यका बिरामीलाई छुट्याउन निर्देशन दिएको हो। मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले १३ वटा अस्पताललाई मानसिक स्वास्थ्य अन्तरङ्ग सेवा सञ्‍चालन गर्न निर्देशन दिएको छ।

यसका लागि छनोट भएका अस्पतालमा भद्रपुरको मेची अञ्चल अस्पताल, विराटनगरको कोशी अस्पताल, राजविराजको राजविराज अस्पताल, जनकपुरको जनकपुर अस्पताल, वीरगञ्जको वीरगञ्ज अस्पताल, हेटौंडाको हेटौंडा अस्पताल, बाग्लुङको बाग्लुङ अस्पताल, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, दाङको तुलसीपुर अस्पताल, नेपालगञ्जको भेरी अस्पताल, सुर्खेतको सुर्खेत अस्पताल, धनगढीको सेती अस्पताल र डडेल्धुराको डडेल्धुरा अस्पताल छन्।

यी १३ वटै अस्पतालमा निर्देशिका लागू हुने नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका फोकल पर्सन डा। टेकराज डिसीले बताए। यसका लागि सबै अस्पताललाई परिपत्र गरिसकिएको उनको भनाइ छ।

अब यी अस्पतालले कम्तीमा १० शय्याको सेवा सञ्चालन गर्नुपर्नेछ। त्यस्तै, महिला र पुरुषका लागि छुट्टै कक्ष र जोखियुक्त व्यक्तिका लागि छुट्टै कक्षको व्यवस्था गर्नुपर्ने, आवश्यक अवस्थामा विद्युतीय उपचार प्रदान गर्न सक्ने प्रबन्ध मिलाउनुपर्ने र इलेक्ट्रो कन्भुल्सिभ थेरापी (ईसीटी) सेवा पनि अस्पतालले प्रदान गर्नुपर्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार