शेरबहादुर देउवा र प्रचण्डको नक्कली पिरती धेरै दिन टिक्दैन : सुरेन्द्र पाण्डे

चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रेम धेरै समय नटिक्ने बताएका छन् । आइतबार नेकपा एमालेले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले देउवा र प्रचण्डबीच रहेको ‘प्रेम’ लाई चाउरे पिरतीको संज्ञा दिए ।

‘केही दिनअघि भरतपुरमा गरिएको भाषण सुनेँ । शेरबहादुर देउवाजीले भन्नुभएछ, मेरो जोडले पो मेयरको उम्मेदवार रेनुजीलाई दिएको प्रचण्डजी त नाइ भन्दै हुनुहुन्थ्यो, कति प्यारो प्रेम बसेछ प्रचण्डजीमाथि’ उनले भने ।

उपाध्यक्ष पाण्डेले अघि भने, ‘यहाँलाई म भन्न चाहन्छु शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो प्रेम छ, ज्यादै कमजोर प्रेम छ भन्ने कुरा धेरै पर जानुपर्दैन होला । यहाँहरुले अहिले नक्कली पिरती देखाउनुभएको छ, यो चाउरे पिरती केही दिनमा नै अंगभंग हुनेवाला छ ।’

उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री पत्नी आरजु राणाले आफूहरुले हारेको ठाउँमा बजेट नदिने भनी टिप्पणी गरेको भन्दै विरोध जनाए । उनले भने, ‘आज पनि राणाशासन गएको छैन कि भन्ने भान उहाँमा रहेछ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार