काठमाडौंमा एमाले पहिलेको भन्दा झन् बलियो, पार्टी फुटको असर न्यून

भद्रगोल सत्ता गठबन्धन– फाइदा एमालेलाई

काठमाडौं । देश संघीय प्रणालीमा गएपछिको दोस्रो स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदैछ । निर्वाचनमा अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँच दलीय गठबन्धन छ । तै पनि विरासत जोगाउने योजनासहित एमाले चुनावी मैदान होमिएको छ । २०७४ सालको निर्वाचनमा ७५३ स्थानीय तह मध्ये नेकपा एमालेले २७६ वटा पालिकाको प्रमुखमा जित हासिल गरेको थियो भने दोस्रो भएको नेपाली काँग्रेसले २२६ वटा स्थानीय तहको प्रमुखमा जित हात पारेको थियो । अघिल्लो निर्वाचनमा भन्दा यो पटक अत्याधिक बहुमतका साथ विजयी हुने एमाले नेताहरुको दाबी छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका चुनौतीका रुपमा पार्टी फुटको असर र पाँचदलीय गठबन्धन देखिएको छ । तर काठमाडौंमा भने पार्टी फुटको असर र पाँचदलीय गठबन्धन हुँदा हुदै पनि एमालेको पक्षमा माहोल बन्दै गएको छ । काठमाडौंमा यो पटक नेकपा एमाले बलियो छ । एमाले विभाजन पछि बनेको नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताहरु पनि यो पटक एमालेको सूर्य चिन्हमा भोट हाल्ने बताउँछन् । सूर्य चिन्ह र पार्टीका कारण पनि उनीहरुको भोट एमालेलाई जाने अनुमान छ । गठबन्धनले काठमाडौंका स्थानीय तहहरुमा कम्जोर उम्मेद्वारलाई अगाडि सार्दा एमालेलाई सजिलो भएको छ । गठबन्धन भित्र आन्तरिक मतभेद र अन्तरघातको डर पनि छ ।

यो पटक महानगरबाहेकका अन्य १० नगरपालिकामा सत्तारूढ दलहरूबिचको चुनावी तालमेल रंगबिरंगी देखिएको छ । महानगरपालिकामा केन्द्रबाटै भागबण्डा भए पनि अरू नगरपालिकामा भद्रगोल भएको हो । सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच नगरपिच्छे फरक फरक तालमेल देखिएको हो । यसको फाइदा एमालेले पाउने निश्चित छ ।

काठमाडौं महानगरपालिका
स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर सधैं चर्चित रहने गर्छ। सबभन्दा ठूलो महानगर, त्यसमाथि मुलुकको राजधानी अनि सम्पदा र वैभवको नगरी काठमाडौंको राजनीतिक नेतृत्व कसको हातमा जान्छ भन्ने चर्चा र चासो स्वाभाविक हो। त्यसमाथि दुई प्रमुख दल एमाले र कांग्रेसले मेयरका रूपमा ‘हाइ प्रोफाइल’ उम्मेदवार उठाएपछि काठमाडौंको चुनावमा झनै चासो बढेको छ। एमालेले केशव स्थापित र कांग्रेसले सिर्जना सिंहलाई मेयरमा उठाएका छन् ।

स्थापित यसभन्दा पहिले २०५४ सालमा पनि काठमाडौंमा मेयर भइसकेका व्यक्ति हुन् । यस क्षेत्रमा उनको छवि राम्रो छ ।त्यस बेला विकास र भौतिक पूर्वाधार निमार्णमा स्थापितले निकै महत्पूर्ण उपलब्धी हात पारेका थिए । सत्ता गठबन्धनले यो पटक काठमाडौंको मेयरका उम्मेद्वारका रुपमा सिर्जना सिंहलाई अघि सारेको छ । सिर्जना सिंह काँग्रेस नेता प्रकाशमान सिंह की पत्नी हुन् । उनको राजनीति अनुभव त्यत्ति धेरै छैन । यदपी स्थापितको प्रमुख प्रतिस्पर्धीको रुपमा सिर्जना सिंह खडा भएकी छिन् । तुलनात्मक हिसाबले उनलाई कम्जोर प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

सिर्जना सिंहलाई मैदानमा उतारेर काठमाडौं महानगर फेरि आफ्नो पोल्टामा पार्ने दाउमा कांग्रेस छ भने राजधानी कुनै पनि हालतमा आफ्नो दलको नेतृत्वबाट नफुत्कियोस् भन्नेमा एमाले धेरै नै सचेत देखिएको छ। तीन लाख मतदाता भएको काठमाडौं महानगरमा एमाले र सत्ता गठबन्धनको प्रतिस्पर्धा छ । तर यो पटक काठमाडौं महानगरपालिका एमालेको पकड क्षेत्र भएको र स्थापितलाई यहाँका स्थानीय जनताको साथ भएको हुँदा स्थापित बलियो देखिएका हुन् । यसअघि २०७४ को निर्वाचनमा काठमाडौंको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भएका थिए । त्यसबेला एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी तालमेल गरेका थियो । शाक्यले करीब २० हजार मतान्तरसहित चुनाव जितेका थिए ।शाक्यले ६४ हजार ९१३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए ।

अहिले नेकपा एमाले विभाजन भएको छ । तर काठमाडौंमा फुटको असर न्यून देखिएको छ । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी काठमाडौंमा कम्जोर छ । त्यस बाहेक गठबन्धन भएकोले समाजवादीका कार्यकर्ताले रुखमा भोट हाल्नु पर्ने केन्द्रिय नेताहरुको उर्दी छ । तर यहाँका अधिकाशं कार्यकर्ताले सूर्य चिह्नमा नै भोट हाल्ने धेरैको आँकलन छ । यसले स्थापितलाइ अझ धेरै बलियो बनाएको छ ।

कागेश्वरी मनहरा
कागेश्वरी मनहरा नगरपालिकाको प्रमुखमा नेकपा एमालेले रामशरण ढुंगानालाई अघिसारेको छ । भने यहा काँग्रेस र माओवादी बीच चुनावी ताममेल भएको छ । दुई दलिय गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका उपेन्द्र कार्की र उपमेयरमा माओवादी केन्द्रका भोला चापागाईँ निर्वाचनमा होमिएका छन् । नेकपा एस एक्लै चुनावी प्रतिस्पर्धामा छ । यो क्षेत्र एमालेको पकट क्षेत्र हो ।

यसअघि २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट उम्मेद्वार बनेका कृष्ण हरी थापाले जित हात पारेका थिए । एमाले उम्मेद्वार थापाले ८ हजार ९६९ मतसहित विजयी हुँदा उनलाई कांग्रेसका अहिलेकै उम्मेदवार कार्कीले ८ हजार ४८७ मतसहित टक्कर दिँदा माओवादी केन्द्रका उम्मेदवार महेश्वर फुयाँलले २ हजार ५६७ मत पाएका थिए ।
यो पटक पनि यो क्षेत्रमा एमालेका उम्मेद्वार ढुंगाना निकै बलियो अवस्थामा देखिएका छन् । यहाँ पार्टी फुटको असर न्यून छ । यसबाहेक यहाँ गठबन्धपनि विभाजन भएको छ । यसको फाइदा स्वतः नेकपा एमालेलाई प्राप्त हुने छ ।

किर्तिपुर नगरपालिका
आसन्न स्थानीय तहको निर्वाचनमा किर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एमालेले केशरत्न ब्रजाचार्यलाई अघि सारेको छ । भने उपमेयरमा बिन्दु महर्जनलाई उठाएको छ । ब्रजाचार्य यस क्षेत्रमा विकास प्रेमि लोकप्रिय नेताका रुपमा परिचित छन् । भनेसत्तारूढ तीन दल एक्ला एक्लै प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेसबाट मेयरमा राजकुमार नकर्मी र उपमेयरमा शुभ लक्ष्मी शाक्य उम्मेदवार रहँदा नेकपा एसबाट मेयरमा बटुकृष्ण थापा र उपमेयरमा कमला महर्जन उम्मेदवार छन् । यस्तै माओवादी केन्द्रबाट मेयरमा शिव शरण महर्जन र उपमेयरमा सुशीला बस्नेत उम्मेदवार रहेका छन् ।

अघिल्लो निर्वाचनमा यहाँ एमालेका रमेश महर्जनले ७ हजार ३६० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका अहिलेकै उम्मेदवार नकर्मी ६ हजार ६१६ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए । माओवादी केन्द्रका हीराबहादुर महर्जनले ४ हजार ९ मत ल्याएका थिए । यस क्षेत्रमा विरासत जोगाउन एमाले पूर्ण रुपमा सक्षम रहेको नेताहरुको भनाइ छ । अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि पार्टी फुटको असर न्यून छ । एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुलाई सूर्य चिह्न प्यारो भएको हुँदा धेरैको भोट त्यत्तै जाने छ ।

गोर्कनेश्वर नगरपालिका
गोर्कनेश्वरमा नेकपा एमालेले मेयरमा उद्धव विष्ट र उपमेयरमा सान्नानी लामालाई उम्मेद्वार बनाएको छ । अघिल्लो पटकको निर्वाचनमा एमालेले यस तहमा पराजय ब्यहोर्नु परेको थियो । यो पटक एमाले बदला लिने दाउमा रहेको छ । यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसका सन्तोष चालिसे ९ हजार ९ मतसहित विजयी हुँदा एमालेका पुण्यप्रसाद चौलागाईं ७ हजार ५९५ मतसहित दोस्रो भएका थिए । माओवादी केन्द्रका तेजराज नेपालले २ हजार २६ मत पाएका थिए ।
यो पटक कांग्रेसले मेयर छाड्न नमानेपछि यहाँ माओवादी केन्द्र र नेकपा एसले तालमेल गरेका छन् । तालमेलअनुसार मेयरमा नेकपा एसका गोपालप्रसाद बराल र उपमेयरमा माओवादी केन्द्रका पेमाछिरि शेर्पा उम्मेदवार छन् ।कांग्रेसले मेयरमा दीपककुमार रिसाल र उपमेयरमा शान्ति नेपाललाई उठाएको छ ।
यहाँ एमाले उम्मेद्वारको बलियो सम्भावना रहेका छ । गठबन्धनमा भद्रगोल छ । त्यसैपनि आन्तरिक रुपमै प्रतिस्पर्धामा रहेका गठबन्धनका उम्मेद्वारलाई पराजित गर्न गोर्कनेश्वरमा एमाले उम्मेद्वारलाई सहज छ ।

चन्द्रागिरी नगरपालिका
यहाँ कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । जसमा कांग्रेसबाट मेयरमा घनश्याम गिरि र जनमोर्चाका तर्फबाट रोशन दानी उपमेयरमा उम्मेदवार छन् । माओवादी केन्द्रले मेयर–उपमेयरमा यही गठबन्धनलाई सघाउने भएको छ ।नेकपा एसले मेयरमा सुशीला न्यौपाने र उपमेयरमा भाइकृष्ण बलामीलाई उम्मेदवार बनाउँदा एमालेबाट मेयरमा हाल १५ नम्बर वडाका वडाध्यक्ष उत्तम राउत र उपमेयरमा बसन्ती श्रेष्ठ उम्मेदवार छन् ।

यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसका अहिलेका उम्मेदवार गिरि १३ हजार ३०९ मत ल्याएर विजयी हुँदा एमालेका प्रह्लादबहादुर कार्की १० हजार ४२१ मत ल्याएर दोस्रो भएका थिए । माओवादी केन्द्रका श्रीकृष्ण श्रेष्ठले ३ हजार ६८७ मत प्राप्त गरेका थिए । यो क्षेत्र एमालेको पकड रहेको क्षेत्र हो ।गठबन्धनले यस क्षेत्रममा कमजोर उम्मेद्वारलाई अघि सारेको छ । जसको प्रत्यक्ष फाइदा नेकपा एमालेले लिने आँकलन गरिएको छ ।

टोखा नगरपालिका
काठमाडौंको अर्को नगरपालिका टोखामा एमालेबाट यसअघिकै प्रकाश अधिकारी मेयरमा र ज्ञानमाया डंगोल उपमेयरका उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा एमालेका अहिलेका उम्मेदवार अधिकारी ८ हजार ८९५ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका हरिहर अधिकारीले ७ हजार ५१४ मतसहित दोस्रो हुँदा माओवादी केन्द्रकी कल्पना शर्माले २ हजार ३९२ मत ल्याएर तेस्रो भएकी थिइन् । यो पटक पनि टोखामा एमालेले जित हात पार्ने निश्चित भएको नेताहरुको दाबी छ ।

यहाँ सत्तारूढ दलहरूबीचमा तालमेल हुन नसकेपछि एक्ला एक्लै चुनावमा गएका छन् । जसमा कांग्रेसबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङ उम्मेदवार छन् । नेकपा एसले कविताकुमार गौतमलाई मेयर र उपमेयरमा जोगप्रसाद नेपाललाई खडा गरेको छ । माओवादी केन्द्रले मेयरमा शेखर श्रेष्ठलाई र उपमेयरमा यमुना पुडासैनी अधिकारीलाई उम्मेदवार बनाएको छ । गठबन्धन भएको फुटको फाइदा नेकपा एमालेले लिने छ ।

तारकेश्वर नगरपालिका
एमालेले रामेश्वर बोहरालाई मेयर र भवानी डोटेल धिताललाई उपमेयरको उम्मेदवार बनाएर दोहो¥याएको छ । भने यहाँ नेकपा एस र माओवादी केन्द्रबीच तालमेल हुँदा कांग्रेस एक्लै प्रतिस्पर्धामा छ । गठबन्धनका तर्फबाट मेयरमा नेकपा एसका लवकुमार बस्नेत र उपमेयरमा माओवादी केन्द्रका धनलाल महर्जन उम्मेदवार छन् ।कांग्रेसबाट मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सृजना बुर्लाकोटी उम्मेदवार छन् ।

अघिल्लो निर्वाचनमा यहाँ एमालेका अहिलेकै उम्मेदवार बोहरा ९ हजार ३२६ मतसहित विजयी भएका थिए । कांग्रेसका श्रीराम थापा ७ हजार ७५७ मत ल्याएर दोस्रो भएका थिए । त्यस्तै माओवादी केन्द्रका अहिले उपमेयर उम्मेदवार महर्जनले ३ हजार २२१ मत पाएका थिए । यो क्षेत्रमा एमाले सबैभन्दा बलियो देखिएको छ । यहाँ पार्टी फुटको असर पनि देखिएको छैन । एमाले उम्मेद्वार रामेश्वर बोहोरा आफ्ना कार्यकर्ताका साथै गठबन्धनका कार्यकर्ताको भोट पनि आफूलाई प्राप्त हुनेमा ढुक्क छन् ।

दक्षिणकाली नगरपालिका
दक्षिणकालीमा मेयर र उपमेयरमा एमालेले श्रीराम आचार्य र उपमेयरमा इन्दिरा न्यौपानेलाई उम्मेदवार बनाएको छ । भने कांग्रेस र माओवादी बीच गठबन्धन भएको छ ।काँग्रेसलाई समर्थन गरेको माओवादी केन्द्रले ३ जना वडाध्यक्ष रुख चिन्हबाटै लडाएको छ । दुई पार्टीबीचको सहमतिअनुसार कांग्रेसका मोहन बस्नेत र बसन्ती तामाङ क्रमशः मेयर र उपमेयर उम्मेदवार छन् ।यहाँ नेकपा एसले रामप्रसाद तिमिल्सिना जैसीलाई मेयर उम्मेदवार बनाएको छ । उसले उपमेयरमा उम्मेदवारी दिएको छैन ।

यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसका अहिलेकै उम्मेदवार बस्नेत ४ हजार ६९८ मतसहित विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका शशि शर्मा अर्यालले ४ हजार २६८ मत ल्याएकी थिइन् । अघिल्लो पटक थोरै मतअन्तरले पराजित भएको एमालेले यस पटक यहाँ जित हात पार्ने दाउमा छ। यहा गठबन्धनले कम्जोर उम्मेद्वार अघि सार्दा त्यसको फाइदा एमालेले प्राप्त गर्ने छ ।

नार्गाजुन नगरपालिका
नार्गाजुन नगरपालिकामा एमालेले नन्दनहरि गौतमलाई मेयर र सुशीला अधिकारीलाई उपमेयरको उम्मेदवार बनाएको छ । सुशीला अहिलेकै उपमेयर हुन् । भने सत्ता गठबन्धनका प्रमुख दलहरूबीचमा यहाँ पनि पूर्ण तालमेल हुन सकेन । यहाँ कांग्रेसबाट मेयरमा मोहनबहादुर बस्नेत र उपमेयरमा कल्याणी खड्का उम्मेदवार छन् । यस्तै नेकपा एसले देवकी भट्टराईलाई मेयर र कृष्णहरि खत्रीलाई उपमेयर उठाएको छ । माओवादी केन्द्रबाट मेयरमा सरस्वती सुनार र उपमेयरमा प्रताप दानी उम्मेदवार छन् ।

यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसबाट अहिलेकै उम्मेदवार बस्नेत ६ हजार ९६१ मतसहित विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका कृष्णहरि खत्रीले ६ हजार ७२६ मत ल्याएका थिए ।राप्रपाका उद्धव थापा २ हजार ४९४ मतसहित तेस्रो भएका थिए । माओवादी केन्द्रका कुमार तामाङ एक हजार ६१९ मतसहित चौथो स्थानमा रहेका थिए ।

बुढानिलकण्ठ नगरपालिका
बुढानिलकण्ठमा एमालेबाट मिठाराम अधिकारी मेयर र अनिता लामा उपमेयर उम्मेदवार छन् । यहाँ अघिल्लो पटकको निर्वाचनमा एमालेले जित हात पारेको थियो । यहाँ एमालेको बलियो सम्भावना रहेको छ । यता बुढानिलकण्ठ नगरपालिकामासत्तारूढ दलहरूबिच सहमति जुटेन । फलस्वरूप एक्ला एक्लै चुनावमा गएका छन् । यहाँ कांग्रेसबाट मेयरमा विनोद चालिसे र उपमेयरमा रमिला वाग्ले उम्मेदवार छन् । नेकपा एसले मेयरमा बालकृष्ण श्रेष्ठ र उपमेयरमा प्रमीला सापकोटालाई खडा गरेको छ । माओवादी केन्द्रबाट डम्बरप्रसाद अधिकारी मेयर र कमला गौतम उपमेयर उम्मेदवार छन् ।

अघिल्लो पटक यहाँ एमालेका उद्धवप्रसाद खरेल १३ हजार २४६ मतसहित विजयी भएका थिए । कांग्रेसका राजु श्रेष्ठ ८ हजार ९२७ मतसहित दोस्रो हुँदा माओवादी केन्द्रका रविन अधिकारीले ३ हजार ७९० मत पाएका थिए । यस्तै माओवादी केन्द्रका सञ्जीव लामाले २ हजार ४८१ मत पाएका थिए ।

शंखरापुर नगरपालिका
एमालेबाट मेयरमा कृष्णलाल बजगाईँ र उपमेयरमा लक्ष्मी केसी उम्मेदवार छन् । २०७४ सालको निर्वाचनमा यहाँ पनि एमाले उम्मेद्वार भारी मतअन्तरका साथ विजयी भएको थिए । अघिल्लो निर्वाचनमा यहाँ एमालेका सुवर्ण श्रेष्ठ ४ हजार ८६९ मत ल्याएर मेयर विजयी भएका थिए । कांग्रेसका शंकर तिवारी २ हजार ९४७ मतसहित दोस्रो भएका थिए । माओवादी केन्द्रका कृष्णराज सुवेदीले २ हजार ४३६ मत पाएका थिए ।

यो पटक यहाँ कांग्रेसले नेकपा एसलाई मेयर पद छाडेको छ । कांग्रेससँगको तालमेलअनुसार नेकपा एसबाट लक्ष्मीप्रसाद श्रेष्ठ मेयर उम्मेदवार छन् । कांग्रेसका समिता श्रेष्ठ उपमेयर उम्मेदवार छिन् । यहाँ माओवादी केन्द्र एक्लै चुनाव लड्दै छ । उसले मेयरमा मधु केसी र उपमेयरमा चण्डिका चौलागाईं उठाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार