कांग्रेसले गर्‍यो ६ बागीलाई कारबाही

नेपाली कांग्रेस गोरखाले ६ जना बागी उम्मेदवारलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

शनिबार जिल्ला अनुशासन समितिका संयोजक कृष्णबहादुर आलेले विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारलाई निष्कासन गरेको बताएका हुन् ।

कारबाहीमा पर्ने मध्ये आरुघाट गाउँपालिका वडा नम्बर-७ का रणबहादुर बराम, पालुङटार नगरपालिका वडा नम्बर-४ का स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद सोडारी, वडा नम्बर १० का अमर धिताल र सरस्वती भारती, गोरखा नगरपालिका वडा नम्बर-४ का लालप्रसाद भट्टराई, गोरखा नगरपालिका वडा नम्बर ६ का रंगुबाबु श्रेष्ठ रहेका छन् ।

उनीहरू सबैलाई पार्टीको विधान अनुसार पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

बागी उम्मेदवार सबैलाई गत बिहीबार (वैशाख २१) गतेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको थियो । तर, तोकिएको समयसम्म पनि उम्मेदवारी फिर्ता नगर्ने र स्थगनको घोषणा नगर्नेलाई विधानतः स्वतः कारबाही गरिएको सभापति न्यौपानेले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार