टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबको पुरुष टोलीले एनभिए भलिबल राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको पुरुषतर्फको अन्तिम खेलमा आर्मीले हेल्प नेपाललाई २५–१३, २५–१८, २६–२८, २८–२६ ले पराजित गर्यो ।
राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहेको आर्मी तीन भारतीय खेलाडी सहित मैदान उत्रिएको हेल्प नेपालविरुद्ध पूर्ण हाबी भएको थियो ।
उपाधिसँगै आर्मीले ६ लाख रुपैयाँ प्राप्त गर्यो । यस्तै, उपविजेतामा चित्त बुझाएको हेल्प नेपालले तीन लाख र तेस्रो स्थानको नेपाल पुलिस क्लबले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गर्यो ।
आजै भएको महिलातर्फको अन्तिम खेलमा पुलिसलाई सोझो सेटमा पराजित गर्दै आर्मीले नै उपाधि जितेको थियो ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको महिलातर्फको उपाधि पहिलो पटक जितेको छ । आर्मीले पुलिसलाई २५–१८, २५–२३, २५–२० को सेटमा पराजित गर्यो ।