मलेखु बजार बन्यो पूर्ण डिजीटल, हरेक पसलमा क्यूआरबाट भुक्तानी

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ ।
पछिल्ला दिनमा क्युआर भुक्तानीलाई तीब्र रुपमा अगाडि बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।
शुक्रबार कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआरमार्फत भुक्तानी गर्दै डिजिटल मलेखु बजारको उद्घाटन गरे । उनले विभिन्न व्यवसायीहरुलाई क्यूआर कोड समेत हस्तान्तरण गरे । यो सँगै मलेखुका हरेक पसलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । क्यूआरमार्फत भुक्तानी गर्न सकिने भएसँगै मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।
शुक्रबार डिजिटल बजार उद्घाटन गर्दै बेनीघाट रोरांग गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले सुरक्षित कारोबारका लागि क्यूआर प्रविधि अत्यन्त उपयोगी रहेकाले बेनीघाट नगरपालिकाका व्यवसायीलाई प्रविधिको प्रयोग गर्न आग्रह गरे ।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगले व्यवसायी तथा बैंकको संम्बन्ध नयाँ उचाइमा पुर्याउने बताए । व्यवसायीहरुले बैंकिङ्ग माध्यमबाट कारोबार गर्दा उनीहरुलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताए ।
कार्यक्रममा एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकाललले  मलेखु बजार राजधानी छिर्ने नाकाको मुख्य बजार भएको हुनाले यस बजारलाई  डिजिटल बजारका रुपमा विकास गरेर उदाहरणीय बनाउन आवश्यक रहेको बताए ।
शुक्रबार मलेखुमा भएको कार्यक्रममा बैंकका तर्फबाट बैंकको संचालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो । कलाकार सन्दिप क्षेत्री, धर्मेन्द्र सेवान, रुसान श्रेष्ठले प्रस्तुती दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार