पदभार ग्रहण गर्दै गण्डकी प्रदेशप्रमुख पौडेलले भनिन् – अविश्वास प्रस्ताव निस्क्रिय जस्तै

गण्डकी प्रदेशका लागि नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले बुधबार पदभार ग्रहण गरेकी छन् । सहिदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा ११ बजे नियमित कार्यक्रमको रजिस्टरमा हस्ताक्षर गर्दै उनले पदभार ग्रहण गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अमिक शेरचनलाई हटाएर पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । गण्डकीमा उनी तेस्रो प्रदेश प्रमुख हुन् । शेरबहादुर देउवा सरकारले नियुक्त गरेका बाबुराम कुँवरलाई हटाएर गतवर्ष कात्तिक १७ गते शेरचन नियुक्त भएका थिए । उनले १८ महिना जिम्मेवारी पाए ।

पदवहालीको क्रममा बोल्दै पौडेलले अविश्वास प्रस्ताव निस्क्रिय जस्तै भइसकेको बताएकी छन् । ‘नियम कानुनको परिधिभित्रै बसेर निकास दिन काम गर्ने हो । नियमअनुसार भन्ने हो भने अब अविश्वास प्रस्ताव निश्क्रिय भएको जस्तो अवस्था छ,’ पौडेलले भनिन्, ‘छलफल चलिसकेको मतदानमा जान लागेको कुरा एकाएक बन्द गर्दा अब के बुझ्ने त ? न सरकारलाई दोष दिने ठाउँ छ त्यहाँ । जिम्मेवारी सबै सभामुखले लिनुपर्छ । सभामुखले नै कसरी निकास दिने हो त्यो सभामुखले नै ल्याउनु पर्‍यो ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता छ, त्यसको छिनोफानो गर्न अधिवेशन चल्दाचल्दै स्थगित भएको अवस्थामा शेरचनको ठाउँमा प्रदेश प्रमुख भएर पौडेल आएकी हुन् । प्रदेश सभामा वैशाख २ मा अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसमाथि मतदान गर्न १५ गतेलाई प्रदेश सभामा कार्यसूची प्रकाशित भएको थियो । तर, एकजना सांसद अनुपस्थित भएको भन्दै सभामुखले सदन अनिश्चितकालका लागि स्थगित गरेका थिए । दलहरुबीच सदन फेरि कहिले चलाउने भनेर सहमति जुट्न सकेको छैन ।

कार्यक्रममा उनले जनताको अपेक्षाअनुसार नै आफूले जिम्मेवारी वहन गर्ने पनि बताएकी छन् । कार्यक्रममा प्रदेशका अर्थमन्त्री किरण गुरुङ, प्रमुख जिल्ला अधिकारी, निमित्त प्रदेश प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरू उपस्थिति थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार